ट्रेण्डिङ

होमपेज / खेलकुद

अब मेस्सी नै ‘सर्वकालीन महान’ खेलाडी - रोनाल्डो

‘रेकर्डहरू तोडिनकै लागि बनाइएका हुन्छन्।’

नेपालगाथा २०८३ असार ४ गते बिहीबार १२:५७:४३ मा प्रकाशित

काठमाडौं । फुटबल महानायक ब्राजिलका रोनाल्डो लुइस नाजारियो दे लिमाले अल्जेरियाविरुद्धको शानदार ह्याट्रिकपछि लियोनेल मेस्सीलाई निर्विवाद रूपमा सर्वकालीन महान (जीओएटी) खेलाडी घोषणा गरेका छन् । विश्वकपको पहिलो खेलमा अल्जेरियामाथि ३-० को सहज जित निकाल्दै साविक विजेता अर्जेन्टिनालाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा मेस्सीले ऐतिहासिक प्रदर्शन गरेका थिए ।

अमेरिकी क्लब इन्टर मियामीका स्टार मेस्सीको प्रदर्शनले स्पेनिस क्लब रियल मड्रिडका पूर्वचर्चित खेलाडी रोनाल्डोलाई समेत आश्चर्यचकित बनाएको थियो । पोर्चुगीज सञ्चारमाध्यम ए बोलासँग कुरा गर्दै रोनाल्डोले मेस्सीको खुलेर प्रशंसा गरे। उनले सर्वकालीन महान खेलाडी को भन्ने बहस अब अन्त्य हुनुपर्ने बताए।

रोनाल्डोले भने, ‘अब विश्वले लुक्न छाडेर उनी नै सर्वकालीन महान खेलाडी हुन् भन्ने तथ्य स्वीकार गर्ने समय आएको छ । उनले हरेक सिजन र विश्वकपमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, तर अझै पनि उनीबारे शंका गरिन्छ । यो एउटा अविस्मरणीय र ऐतिहासिक रात हो, जुन सदैव इतिहासमा अंकित रहनेछ ।’

मंगलबारको प्रदर्शनसँगै मेस्सीले फुटबल इतिहास पुनर्लेखन गरे । उनले पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा ह्याट्रिक पूरा गरेका छन्। तीन गोलसँगै मेस्सीको कुल विश्वकप गोल संख्या १६ पुगेको छ। यससँगै उनले ब्राजिलियन महानायक रोनाल्डोलाई पछि पार्दै पूर्व जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग बराबरी गर्दै प्रतियोगिताको इतिहासमा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

यो उपलब्धिबारे प्रतिक्रिया दिँदै रोनाल्डोले भने, ‘रेकर्डहरू तोडिनकै लागि बनाइएका हुन्छन् । र ती रेकर्ड तोड्ने व्यक्ति मेस्सी नै भएकोमा विश्वका कुनै पनि फुटबल समर्थक अचम्मित हुँदैनन् । साथै अर्जेन्टिना प्रतियोगिताको साविक विजेता टोली पनि हो ।’

अर्जेन्टिनाको प्रभावशाली प्रदर्शनले प्रतियोगिताको सुरुआती खेलमा कुनै अप्रत्याशित नतिजा आउन दिएन । सन् २०२२ को कतार विश्वकपमा साउदी अरेबियासँग स्तब्ध पार्ने हार बेहोरेको अर्जेन्टिनाले यसपटक भने उपाधि रक्षाको अभियानलाई त्रुटिरहित ढंगले सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top