होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह-प्रा.डा. सुदीप ठकुरीको स्वागत तथा पदभार ग्रहण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष तथा उपकुलपति सह-प्रा.ई.डा. राजन सुवालले नवनियुक्त रजिष्ट्रार ठकुरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनियुक्त रजिष्ट्रार सह-प्रा. डा. सुदीप ठकुरीले आफूलाई रजिष्ट्रारको जिम्मेवारी प्रदान गर्नुहुने सम्बन्धित सम्पूर्ण व्यक्तित्वप्रति आभार प्रकट गर्नुभएको थियो। उहाँले विगतमा यसै विश्वविद्यालयमा काम गर्दाको अनुभव स्मरण गर्दै आगामी दिनमा विश्वविद्यालयका लागि थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूलाई एकआपसमा सहयोगी भावना राख्दै विश्वविद्यालयको हितलाई मध्यनजर गरी अगाडि बढ्न अनुरोध गर्नुभयो।
सोही अवसरमा निवर्तमान रजिष्ट्रार सह-प्रा.डा. अर्जुन बहादुर अयडीलाई मायाको चिनो र कदर पत्रसहित सम्मान तथा विदाइ गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेजका डिन सह-प्रा.डा. आनन्द प्रसाद सुवेदीज्यूले गर्नुभएको थियो । प्रशासन अधिकृत शैलेन्द्र पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


