होमपेज / विचार
विषय प्रवेश
नेपालमा आर्यद्धिग्गजहरुले वर्णाश्रम नियम अनुसार गुरुकुलमा ब्रम्हचार्याश्रममा रहेर स्नातकोपाधिमार्फत दीक्षित हुने परम्परा रहेको थियो । यस वाहेक बौद्ध परम्परा, राजगुरु, पण्डितमार्फत पनि शिक्षाकोपार्जनका प्रयासहरु भएको पाइन्छ । नेपालमा आधुनिक शिक्षाको इतिहास त्रिचन्द्र कलेज स्थापनादेखि भएतापनि वि.सं. २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना पश्चात उच्च शिक्षामा पहुँच विस्तार भएको पाइन्छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र वहुविश्वविद्यालयको अवधारणापछि हाल नेपालमा १६ वटा विश्वविद्यालयहरु सञ्चालनमा आइसकेका छन् भने संघीय सरकारको पहलमा थप २ वटा र प्रदेश सरकारको पहलमा थप ३ वटा विश्वविद्यालयहरु सञ्चालनको पहलमा रहेका छन् ।
नेपालको संविधानको अनुसूची ५ अन्तर्गत संघको अधिकार सूचीमा उल्लेख भएअनुसार केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन संघको अधिकार क्षेत्रमा राखिएको छ । यसैगरी, संविधानको अनुसूची ६ मा प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय र सङ्ग्रहालय प्रदेशको अधिकारभित्र छ । प्रदेशले विश्वविद्यालय स्थापना गर्नसक्ने तर मापदण्ड तयार गर्ने र नियमन गर्ने सङ्घीय सरकारको अधिकारभित्र रहेको स्पष्ट उल्लेख गरिएको छ ।नेपालको संविधानको प्रावधानअनुसार विश्वविद्यालयको स्थापनार्थ गृहकार्य तथा नीतिगत आधार तयार गर्न अघि बढेका छन् भने राष्ट्रिय तथा स्थानीय सम्भावनाहरूको आधारमा आवश्यकताको पहिचान (निड एनालाइसिस) गहन रूपमा नगरी विश्वविद्यालय स्थापना गरेको पाइन्छ ।विश्वविद्यालयहरूको स्थापनाको पृष्ठभूमि, औचित्य, वस्तुस्थिति र सम्भावनाहरुलाई निक्र्यौल नगरी राजनीतिक र तदर्थ निर्णय गरिदा विश्वविद्यालयहरु समस्याको आहालबाट उम्कन सकेका छैनन् ।
विश्वविद्यालयप्रति समाजको अपेक्षा
विश्वविद्यालयहरु समाज, राष्ट्र र समग्र मानव जातिको लागि ऐनाहरु हुन जसमा प्रत्येक व्यक्तिको अन्तर्निहित सक्षमताहरुलाई अनुकूलन गराई मानव जातिको समग्र उत्थानमा लाग्ने वातावरण विश्वविद्यालयहरुले अनुकुलित गराउन सक्नुपर्दछ । समाजले विद्यार्थी दिन्छ । विषयवस्तु दिन्छ । अनि सो अनुरुपको स्रोत सिर्जना गर्ने अवसर दिन्छ । विश्वविद्यालयबाट समाजले सो अनुरुपको प्रतिफल खोज्दछ । समाज विकासका लागि उपयुक्त जनशक्ति, उच्च शिक्षामा गुणस्तरीय, सर्वसुलभ र सबैको समान पहुँच जस्ता कुराहरुमा उपेक्षा राखेको हुन्छ । नेपाली समाज विविधताले ओतप्रोत छ । सोही विविधता अनुरुपमा सामाजिक, आर्थिक र बहुरुपी सवालहरु विद्यमान रुपमा रहेका छन् । स्थानीयतालाई विश्वसामू प्रवद्र्धन गर्नु र विश्वव्यापी शिक्षालाई गुणस्तरीय रुपमा समाजमा पहुँच र सुलभ बनाउनुपर्दछ भन्ने ध्येय नेपाली समाजले राखेको छ । प्राज्ञिक थलोका रुपमा रहेका विश्वविद्यालयहरुलाई थिङ्क ट्याङ्कहरुको रुपमा विज्ञहरुको समाजको रुपमा स्थापित गर्नुको साटो राजनीतिक रुपरंगहरुले धुमिल्याउँदा समाजले विश्वविद्यालयहरुप्रतिको धारणामा परिवर्तन ल्याई लाखौ आफ्ना सन्तानहरुलाई अध्ययनका लागि विभिन्न मुलुकहरुमा पठाउने प्रवृत्ति दिनानुदिन बढ्दै गइरहेको छ । समाजले परिकल्पना गरेको आयमुखी, उत्पादनशील र व्यवहारिक तथा व्यवसायिक शिक्षाको अभावमा प्रतिभा पलायनलाई स्वीकार गर्न वाध्य भएको छ ।
एसियाली विकास बैंकको अध्ययनअनुसार ७९.४ प्रतिशत त्रिभुवन विश्वविद्यालयको एकाधिकार देखिएतापनि सङ्ख्यात्मक र गुणात्मक दुवै पक्ष घट्दो क्रममा छ । विश्वबजार र देशको लागि आवश्यक दक्ष जनशक्ति विकासको तुलनामा गुणस्तर तथा विद्यार्थी सङ्ख्यामा कमी र उत्पादित जनशक्ति प्रतिस्पर्धी हुन नसकेको देखिन्छ । विश्वविद्यालयहरूको सङ्ख्यात्मक रूपले विकास भएको छ तर गुणस्तरको दृष्टिकोणले हेर्दा सुधार गर्नुपर्ने धेरै ठाउँहरू छन् ।गुणस्तरीय उच्च शिक्षाको खोजीमा वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेशिने गरेको तथ्य पनि यसको नतिजा हुनसक्छ ।
पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न विश्वविद्यालयहरुमा राज्यको नीति पक्षले मात्रै पुग्दैन । विश्वविद्यालयको सेवा क्षेत्रका ज्ञानमा आधारित समाज (विज्ञहरु), छोराछोरीको उज्वल भविष्यको कल्पना गर्ने समाज (अभिभावकहरु), लाभग्राही र लगानी समूहका अतिरिक्त खवरदारी समूहको निरन्तर साझेदारी र निगरानी आवश्यक रहन्छ । समाजले लाभ र साझेदारी खोजिरहेको छ तर विश्वविद्यालयका प्रायःजसो कार्यकारी परिषद्हरु राजनीतिक चंगुलमा जकेडिन पुग्दा समाजको सञ्जालबाट टाढिएको देखिन्छ ।
किनविश्वविद्यालयहरुमाकस्टमाइजेसन र कन्फिगेरेसन आवश्यक छ ?
विश्वविद्यालयहरुले गुणस्तरीय शिक्षामार्फत सिर्जनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील र नवप्रवर्तनशील मानव स्रोतको विकास गर्ने सवालमा निरन्तर पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउन सबै पक्षहरुसँग एकता, मितव्ययिता र प्रभावकारिताहरुमा अव्बल राख्न विश्वव्यापी परिवर्तनलाई अवलम्वन गर्न सक्ने सामथ्र्यलाई विश्वविद्यालयको कन्फिगेरेसन भनिन्छ । विश्वविद्यालयलाई समाज, मुलुक र विश्वपरिवेश अनुकुलको सेवा दिन सक्ने सेवामुखी धारणा कस्टमाइजेसन (अनुकुलन) हो ।
विश्वविद्यालयका समग्र प्रणालीहरु (सभा, परिषद्, प्राज्ञिक, आर्थिक प्रशासनिक, शैक्षिक आदि) लाई रि इन्जिनियरिङ गरी कार्यसम्पादनमा निरन्तरता, अव्बलता, दुरुस्तता, मितव्ययिता र प्रभावकारिता ल्याउनका लागि संरचनागत कन्फिगेरेसन, प्रणालीगत कन्फिगेरेसन, कार्यसम्पादनमा कन्फिगेरेसन, नीति र रणनीतिगत कन्फिगेरेसनको आवश्यक रहन्छ । नेपालका अधिक विश्वविद्यालयहरुमा नीति, विधि र कार्यसम्पादन शैली आजको अवस्थामा पुरातन प्रणाली र कोरा खालको छ । समय र सन्दर्भ अनुसारको विश्वविद्यालयहरु बदलिन नसक्दा अभिभावक र विद्यार्थीहरुको भौतिक दूरी बढेको छ, आर्थिक नोक्सानी मात्रै भएको छ, विश्वविद्यालयहरु रित्तिदै गएका छन् ।समग्रमा राज्यको उच्च शिक्षाको नीति र राज्य असफल देखिन्छ ।
समाजको माग विश्वस्तरीय शिक्षालाई नेपालीकरण होस् भन्ने मात्रै चाहदैंन नेपालको स्थानीय परिवेशको अन्तराष्ट्रिय परिवेशमा अनुकुलन पनि समाजले खोजिरहेको छ । नेपालका विश्वविद्यालयहरुले आवश्यकता बमोजिम प्रणाली, गुणस्तर र शैक्षिक गतिविधिहरु मार्फत अव्बल मानव संसाधन निर्माण गर्न सो अनुसारको कस्टमाइजेसन (अनुकुलन) गर्नुपर्ने देखिएको छ । विश्वविद्यालयहरूले विश्वस्तरीय गुणस्तरको पठनपाठन र भौतिक सुविधा, अनुसन्धानमा आधारित पाठ्यक्रम तथा पठनपाठन प्रणालीको विकास, विज्ञान प्रविधि तथा नवप्रवर्तनजस्ता महत्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्न व्यवस्थापकीय विशिष्टता, सिकाउ मात्रै नभै बिकाउ र दिगो शिक्षा, नतिजामुखी प्राज्ञिक व्यवहार र छरितो प्रणाली, विज्ञ र टिकाउ जनशक्ति परिचालन, समयानुकुल र जीविकोपार्जनमुखीको पाठ्यक्रम विकास गर्नुपर्दछ ।
उच्च तहको नेतृत्व सैद्धान्तिक रुपले जति नै मेधावी र प्राज्ञिक भएता पनि राजनीतिक, आर्थिक तथा सामाजिक रुपले स्खलित भएर चिप्लिने इनर्सियाले नेपालका विश्वविद्यालयहरुमा उच्च नेतृत्व उच्च सोचका साथ विश्वविद्यालयको कस्टमाइजेसन र कन्फिगेरेसन गर्न जोखिम गरेको देखिदैन । विश्वविद्यालयका सबै सरोकार पक्षहरुसँग समन्वय र साझेदारी गर्न विज्ञता होइन व्यवहारिकता र कौशल चाहिन्छ । जुन कुराको कमिले नेपालका विश्वविद्यालयका नामुद सोचपत्र र विज्ञताका तर्क राख्ने उच्च नेतृत्व (उपकुलपति, रजिष्ट्रार, डिन आदि) कार्यसम्पादन मानकमा चुकेको देखिन्छ । विज्ञहरुसँग जत्तिको इमोसनल स्ट्रेन्थ देखिन्छ अधिकांश नेपालका विश्वविद्यालयमा सरोकार पक्षहरुबीच समन्वय नहुँदा कार्य व्यवहार डिक्लिन हुने गरेको छ ।
विश्वविद्यालयहरुमा कस्टमाइजेसन र कन्फिगेरेसन कसरी गर्ने ?
नेपालका सबै विश्वविद्यालयहरुमा एउटै खालको संस्कृति र शैक्षिक वातावरण छैन । कतिपय कलेजहरु विश्वस्तरीय पनि छन् । तर नेपालका अधिकांश विश्वविद्यालयमा देखिएको पुरातन शैक्षिक तथा व्यवस्थापकीय प्रणालीका कारणले तत्काल नै विश्वविद्यालयहरुमा कस्टमाइजेसन र कन्फिगेरेसन जरुरी देखिएको छ । समयमा यसको पहल नगरिएमा मुलुकको शैक्षिक जगतमा दीर्घकालिन प्रतिकूलता रहिरहने छ । नेपाली विद्यार्थीहरुको विदेश पलायन अझ बढ्नेछ । नेपालका विश्वविद्यालयहरुको सुधार मार्फत विद्यार्थी पलायन कम गर्न देहाय बमोजिमका पक्षहरुमा कस्टमाइजेसन र कन्फिगेरेसन गर्नुपर्ने देखिन्छ ।
१. कानुनी पक्ष सामयिक, आवश्यकता र व्यवहारमुखी नीति, ऐन निर्माण, कार्यान्वयन तथा परिमार्जन गर्नुपर्ने ।
२. सङ्गठन तथा नेतृत्व ढाँचा - प्राज्ञिक विज्ञता, सोचपत्र र नेतृत्व कौशलता अतिरिक्त समन्वय र साझेदारी सक्षमताका आधारमा विश्वविद्यालयका पदाधिकारी छनौट गर्नुपर्ने । अधिकांश विश्वविद्यालयका पदाधिकारीहरुको समन्वय कौशलता अभावका कारणले विश्वविद्यालयहरुको साख निहुँरिएको छ ।
३. शैक्षिक प्रणाली र पाठ्यक्रम विकास - विद्यालय शिक्षाको कक्षा १२ वा सो सरहको तह पार गरेका विद्याार्थी योग्यता र सक्षमताका आधारमा सबैको उच्च शिक्षामा अवसरको लागि विद्यार्थीहरुमा उत्साह जाग्ने खालको शैक्षिक प्रणाली र पाठ्यक्रम विकास गरी समयसापेक्ष कस्टमाइजेसन जरुरी छ । सिकाउ मात्रै नभै गुणस्तरीय र टिकाउ अनि बिकाउ खालको शिक्षा प्रणाली अभ्यास गर्ने ।
४. भौतिक पूर्वाधार - धुलोले लतपतिएको फर्निचर, अध्यारो अनि साँघुरो कक्षाकोठाको विकल्पमा प्रयोगशाला, पुस्तकालय, डिजिटल पूर्वाधार (सूचना प्रविधि) र अन्य आवश्यक पक्षहरुलाई एकिकृत र प्रयोगमय अवधारणामा आधारित कक्षाकोठा व्यवस्थापन गर्ने । प्रशासनिक, आर्थिक लगायतका काम कारवाहीहरुलाई छुट्टाछुट्टै भन्दा नि एकद्वार प्रणाली वा अनलाइन प्रणालीमा लैजाने ।
५. जनशक्ति पक्ष - डिग्री र प्रमाणपत्र तथा एक दुइ घण्टाको परीक्षाको आधारलाई मात्रै योग्यता प्रणालीको कार्यान्वयन र प्रतिस्पर्धा नठानी कार्यसम्पादन र प्रस्तुतीकरण क्षमतालाई जनशक्ति आपूर्तिको मापदण्ड बनाउने । वर्षौसम्म विश्वविद्यालयको कक्षाकोठा र विद्यार्थीसँग नियमित कक्षाकोठा थामिरहेका आंशिक उपप्राध्यापकहरुको विषयलाई विधि, प्रक्रिया, मापदण्ड र सुरक्षणका आधारमा व्यवस्थापन गर्ने । सबैजसो विश्वविद्यालयहरुमा गम्भीर समस्याका रुपमा रहेको सेवा आयोगको अनिश्चित र अनियमित कार्यप्रणाली हटाउन निश्चित र अनुमानयोग्य पदपुर्ति क्यालेन्डरको व्यवस्था हुनुपर्ने । अव्बल र क्षमतावान प्रतिभा पलायनबाट रोक्न र अव्बल जनशक्तिको समुयोचित उपयोग गर्न सकिन्छ ।
६.अध्ययन र अनुसन्धान पक्ष - प्राध्यापन कौशलतालाई गुणस्तरीय बनाउन, कक्षाकोठामा विद्यार्थीमैत्री कौशल, विश्वस्तरीय विषयवस्तुका लागि अध्ययन तथा तालिम र प्रकाशन पक्षहरुमा जोड दिनुपर्ने । प्राध्यापकहरुले पद र पदोन्नतिका लागि मात्रै अध्ययन र प्रकाशन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कार्यसम्पादन सूचकमा आधारित प्रोत्साहन प्रणाली विकास गर्ने ।
७. उद्यमशीलता र रोजगारी पक्ष - सबैभन्दा गम्भीर मुद्दा भनेकै विश्वविद्यालयको शिक्षा प्रणाली कोरा भयो भन्ने नै हो । इन्टर्नमा आधारित आन्तरिक मूल्याङ्कन र परियोजना र रोजगारीमा आधारित विषयहरुमा विद्यार्थीहरुलाई जोड्नु आवश्यक छ । विश्व परिवेश, स्थानीय माग र आवश्यकतामा आधारित विषयहरुमा केन्द्रित गर्दै उस्तै प्रकृतिका विषयहरु एकीकृत गर्ने तथा अरुचिका विषयहरु क्रमशः हटाउँदै जाने । जीवनोपयोगी र रोजगारमूलक शिक्षा प्रणालीमा जोड दिन प्रयोगात्मक क्षेत्रहरु निर्माण गर्ने । रोजगारीमा रहेका विद्यार्थीहरुको सहजताका लागि भच्र्युल मोडमा कक्षा व्यवस्थापन गर्ने र समय लचकतामा ध्यान पुर्याउने ।
८. विश्ववरियता - गुणस्तर मार्फत, विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण र विश्वविद्यालयहरूबीच समन्वय र सहकार्यका कारणले नेपालका विश्वविद्यालयहरु विश्ववरियतामा नपर्नु वा वरियतामा कम देखिने अवस्था छ । अनुसन्धानमा, शैक्षिक गुणस्तर र विश्वबजारमा आवश्यक जनशक्ति उत्पादनका पक्षहरुमा कस्टमाइजेसन र कन्फिगेरेसन गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा,
शिक्षा र रोजगारबीच तालमेल हुन नसक्नु, शिक्षित बेरोजगारहरूको सङ्ख्या बढ्दै जानु, उच्च शिक्षा प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमूलक हुन नसक्नु, शिक्षामा पर्याप्त लगानी नहुनु, शिक्षाको गुणस्तर अपेक्षित रूपमा न्यून हुनु, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा र प्राविधिक शिक्षाको पहुँच विस्तार पर्याप्त मात्रामा हुन नसक्नु जस्ता समस्याहरुका कारण नेपालका विश्वविद्यालयहरुमा कस्टमाइजेसन र कन्फिगेरेसन जरुरी छ । विश्वस्तरीय विश्वविद्यालयका लागि नेपालका विश्वविद्यालयहरुमा अनुसन्धानमा अब्बल, शैक्षिक गुणस्तर र विश्वबजारमा आवश्यक जनशक्ति उत्पादन जस्ता सोच आवश्यक छ । नेपाल सरकारको बजेट, विश्वविद्यालय अनुदान आयोगको अनुदानको भरमा मात्र परनिर्भर भएर चलेका विश्वविद्यालयमा उत्पादनशीलता र उद्यमशीलता ल्याउन विश्वविद्यालयहरुको संरचना, पदाधिकारी नेतृत्व चयन गर्ने मानक, कार्यसंस्कृति, नीति, रणनीति, विश्वव्यापी पहिचानका साथै अध्ययन र प्रकाशनका पक्षहरुमा कन्फिगेरेसन गरी नेपालका विश्वविद्यालयको सेवालाई कस्टमाइजेसन गर्नुपर्ने देखिन्छ । त्यसैले समग्र प्रणाली सुधार्न नेपालका विश्वविद्यालयहरुको कस्टमाइजेसन र कन्फिगेरेसनको विकल्प छैन ।
(लेखक मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)