होमपेज / समाज
सुर्खेत। साइनिङ अस्पताल, आईएनएफ नेपाल, सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा ह्युमेडिका इन्टरनेसनल, जर्मनीको सहयोगमा सञ्चालित HEAL (Health, Access and Learning for Children with Disabilities), शून्य कुष्ठरोग परियोजना तथा जलन परियोजनाको संयुक्त आर्थिक सहयोगमा छाला रोग, जलन तथा अपाङ्गता पहिचान स्वास्थ्य शिविर शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
वीरेन्द्रनगर नगरपालिका–१०, घुस्रास्थित घुस्रा आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरिएको उक्त शिविरको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्ति, जलनबाट प्रभावित व्यक्ति तथा छाला रोग/समस्याबाट प्रभावित व्यक्तिहरूको पहिचान, स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्नु रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले साइनिङ अस्पताल, आईएनएफ नेपाल, सुर्खेतले अपाङ्गताको क्षेत्रमा पुर्याउँदै आएको सेवा तथा सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा समेत वीरेन्द्रनगर नगरपालिका र साइनिङ अस्पतालबीचको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना, उपचार तथा सहायक सामग्री सेवा प्रवाहका लागि नगरपालिकाले आवश्यकताअनुसार थप आर्थिक साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, साइनिङ अस्पताल, आईएनएफ नेपाल, सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललितबहादुर सारुले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य पुनर्स्थापना, सहायक सामग्री तथा कृत्रिम अङ्ग सेवा, जलन प्रभावित व्यक्तिहरूको उपचार, छाला रोगको उपचार तथा शून्य कुष्ठरोगको लक्ष्य हासिल गर्ने कार्यमा स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा परियोजनाले समुदायस्तरमै पुगेर सेवा प्रदान गरिरहेको बताउनुभयो।
उहाँले परियोजना सञ्चालनमा वीरेन्द्रनगर नगरपालिकाले गरेको बजेट साझेदारीको प्रशंसा गर्दै सहयोगी निकाय, स्थानीय सरकार तथा सरोकारवाला सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्तै सहकार्य र साझेदारी निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
शिविरबाट कुल २ सय १५ जनामध्ये २३ जना अपाङ्गता भएका व्यक्ति, १९ जना जलन प्रभावित व्यक्ति तथा १७३ जना छाला रोग/समस्याबाट प्रभावित व्यक्तिहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए।
शिविरमा स्वास्थ्य परीक्षण, अपाङ्गताको अवस्था मूल्याङ्कन, आवश्यक सहायक सामग्रीको पहिचान, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो। आवश्यकताअनुसार थप उपचार, पुनर्स्थापना तथा सहायक सामग्री सेवाका लागि सम्बन्धित व्यक्तिहरूलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।
स्थानीय तह, स्वास्थ्य संस्था, अस्पताल तथा विकास साझेदार संस्थाबीचको सहकार्य र साझेदारीमार्फत समुदायमै पुगेर स्वास्थ्य तथा पुनर्स्थापना सेवा प्रदान गर्ने उद्देश्यले यस्ता शिविरहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।
शिविरको उद्घाटन कार्यक्रम वीरेन्द्रनगर नगरपालिका–१० का वडा अध्यक्ष डिलबहादुर रखालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्य सन्ध्या परियार, वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र देव गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरला देवी रिग्मी, माधुरी न्यौपाने, घुस्रा आधारभूत स्वास्थ्य चौकीका प्रमुख केशव ढकालकाे सहभागिता रहेकाे थियाे ।
यसैगरी साइनिङ अस्पताल, आईएनएफ नेपाल, सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललितबहादुर सारु, साझेदारी अधिकृत सुनिता भण्डारी, फिजियोथेरापी टेक्निसियन गोविन्द शाही, हरियो खर्क अस्पताल तथा पुनर्स्थापना केन्द्र, पोखराका वरिष्ठ प्लास्टिक सर्जन तथा लेप्रोसी एवं अपाङ्गता सेवा प्रमुख डा. सुरज महर्जन, लेप्रोसी कार्यक्रम प्रमुख यमबहादुर जी.सी., जलन परियोजनाकी स्वयता लम्साल तथा नगरस्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष जयबहादुर बी.क. लगायतको सहभागिता रहेको थियो।
वीरेन्द्रनगरमा कार्यक्रमको शुभारम्भ
सुर्खेत । साइनिङ अस्पताल, आइ एन एफ सुर्खेतमा कार्यक्रमको शुभारम्भ भएको छ । असाेज १ गते बिहीबार एक कार्यक्रमका बीच कार्यक्रमकाे शुभारम्भ गरिएकाे हाे । कार्यक्रममा साइनिङ अस्पताल, आईएनएफ नेपाल, सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललितबहादुर सारुको अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा, प्रदेश अस्पतालका निर्देशक डा . गणेश थापाको प्रमुख आथित्यतामा सम्पन्न भएकाे थियाे । यसैगरी अस्पताल प्रशासक अनिता ज्ञवाली, गैसस सुर्खेतका अध्यक्ष प्रकाश सारु, राष्ट्रिय अपाङ्ग महासङ, कर्णाली प्रदेश प्रबन्धक आनन्द बिस्ट, प्रोस्थिसिस अर्थिएसी अमित बज्राचार्य, अपाङ्ग सशक्तीकरण केन्द्रका अध्यक्ष पुर्ण प्रसाद आचार्य, नगर स्तरीय अपाङ्गता संजालका अध्यक्ष जय बहादुर बि क लगाएत सेवा ग्राहीहरुकाे उपस्तिथिमा साइनिङ अस्पताल, आइएनएफ सुर्खेतमा कार्यक्रमको शुभारम्भ भएको जानकारी दिइएकाे हाे ।
उक्त कार्यक्रमको संचालन लोक प्रसाद गौतमले गर्नु भएको थियो भने उक्त दिन रिफर भइ आएका ३० जना बिरामीको चेक जाँच समेत भएकाे थियाे ।