होमपेज / विचार
जिन्दगी के हो जिएर हेर, आँसु के हो पिएर हेर, न जिइ न पिइ वास्तव मै थाहा हुँदैन वास्तविकता के हो भनेर । तर म भन्छु, दृष्ट्रिकोण बदल्ने बदलिन्छ जीवन । माछा पानीमा पौडिरहेको छ तैपनि थाहा छैन कि उ कहाँ छ । मान्छे यो धर्तीमा बाँचिरहेको छ तैपनि थाहा छैन कि उ कहाँ छ । त्यो माछालाई पानीको अस्तित्व थाहा नभए जस्तै मान्छेलाई पनि जीवनको अस्तित्व थाहा छैन । म कहाँ छु ? म के गर्दैछु केही थाहा छैन तैपनि ऊ अन्धकारमा दौडिरहेको छ । आशा जस्तो अन्धकार केही छैन । यसले जिन्दगी डढेलो लगाइदिन्छ । लक्ष्य बिनाको आशा ब्यर्थ छ । अनि मान्छे भौतारिरहन्छ । भेट्नेलाई सोधिहाल्छ कि जीवन के हो ? कुनै एकै शब्दको परिभाषामा जीवनलाई बुझ्नु गलत हुन्छ । जुन अस्तित्वले गर्दा मान्छेको जीवन रहेको छ त्यही हो जीवन ।
अर्को शब्दमा भन्नुपर्दा एक महान अवसर हो, जिन्दगी । ठुला–ठुला वैज्ञानिक बन्ने अवसर दर्शन विज्ञान अनि गणितको खोजी गर्ने अवसर, ठुला–ठुला डाक्टर इन्जिनियर व्यापारी, पत्रकार कलाकार बन्ने अवसरको एक बाटो हो, जिन्दगी । त्यसको अर्को पाटोलाई हेर्ने हो भने, ठुला–ठुला आतंकबादी बन्ने अवसर, चोर फटाहा बन्ने अवसर अनि एचआइभि जस्ता रोगले ग्रस्त हुने अवसर यी सबै अवसर हुन मात्र रोजाइ तपाईंको ?
मान्छेलाई बाँचेर मात्र पुग्दैन आफूलाई पूर्णत बदल्नुपर्छ । बदल्नुको मतलब यो हो कि, हिजो म जुन निकृष्ट जिन्दगी बाँचेको थिए । त्यसबाट एक स्तरमाथि उठ्नु अनि जीवन उपायोगी गुणहरुको विकास गर्दै जानु । मनले आफ्नो मनको सुक्ष्म शक्तिलाई आत्मा सुझाव दिँदै जानु भनेको बदलिनु हो । विकासको अर्को नाम नै बदलिनु हो । किताब मात्र पढेर कोही पनि बदलिन सक्दैन जबसम्म दैनिक अभ्यास गरिदैंन । किताब पढ्नु भनेको चेतनाको स्तर वृद्धि गर्नु मात्र हो ।
बदलिनको लागि बल चाहिन्छ त्यो हो मनको बल, आत्मा सुझाव, आफ्नो मनले मनलाई भन्दै जानुपर्छ, आत्मा सुझाव दिँदै जानुपर्छ कि म जे पनि गर्न सक्छु । अनि आफूलाई राम्रो चिजसँग तुलना गर्नु, उच्चस्तरको मान्छेहरुसँग सँगत गर्नु भनेको आफूलाई बदल्ने पहिलो बाटो हो । बदलिनु भनेको आज बाँचिरहेको संसारलाई त्याग्नु हो । हिजो म जुन मान्छे थिए म आज भिन्नै मान्छे हो भनेर आत्मैदेखि महशुस गरी प्रगतिको बाटोमा अघि बद्नु नै वास्तविक परिवर्तन हो ।
यो संसारमा प्रकृतिको आफ्नै नियम छ । बिहान घाम उदाउँछ, फेरि राति अस्ताउँछ । असारमा पानी पर्छ, पुर्णिमाको रातमा चन्द्रमा उदाउँछ । त्यसरी नै मान्छेको जीवनमा पनि परिवर्तन भइरहन्छ तर हामी देख्दैनौं । हामी चिन्दैनौं, आफैले आफैलाई त्यही नचिन्नु नै जिन्दगीमा ठुलो दुर्घटना हुनु हो । हामी त भागि रहेछौ हार खाइ खाइ, तड्पी रहेछौ कसैको यादमा । आस्ताउँदै बिलाउँदै अनन्त गतिमा आफैले आफैलाई पुरि रहेछौं । छोडेर जाने मायालाई गल्ली (गल्लीमा कुरिरहेछौं । कति अन्धकार बनाएका छौं हामीले आफ्नै जिन्दगी । जुन कुरा पाइदैंन भन्ने थाहा हुँदा हुँदै पनि त्यसको पछि लागिरहेका छांै अनि हामी बर्बाद नभए को हुने ।
प्रकृतिले पालुवा फेरे जस्तै हाम्रो जीवनले पनि रङ फेर्दछ, म हिजो जुन मान्छे थिए आज त्यो मान्छे होइन । तैपनि हामी त्यही हिजोकै पुरानो मान्छे ठानेर दुःखी हुन्छौं । आफूलाई नचिन्दा हामी यती सस्तो भयौं कि गल्ली–गल्लीमा चुरोटको धुवा उडाउँदैमा ब्यस्त छौ । यसको मतलब यो हो कि हाम्रो जीवन चुरोटको धुवा भन्दा पनि सस्तो छ । यती सुन्दर जीवन उडिरहेछ धुवा बनी हावामा, कसले समाल्देला त्यो जिन्दगी, आफूलाई त खैनी, बिडी अनि बेश्याबृती गर्न मै ब्यस्त बनाइ राख्या छ ।
त्यसैले बिगतमा बाँच्नु भनेको आफूलाई अन्धकारमा धकेल्नु हो । काँडाघारीमा आफूलाई फ्याँक्नु हो । बिगतमा बाच्ने होइन किनकी बिगतमा फर्किन मिल्दैन, न त विगतलाई परिवर्तन गर्न मिल्दैन । बिगतमा बाच्नु भनेको दुःखी हुनु हो । यती जान्दा जान्दै पनि हामी यी कुरा बुझ्दैनौ । कुनै कुरा थाहा भए र पनि नबुझ्नु भनेको चेतनाको स्तरको विकास नहुनु हो । चेतनाको विकास नहुनु भनेको आन्धकारमा हिड्नु हो । आशा जस्तो अन्धकार संसारमा अरु केही छैन । आजको आशाले नै भोलिको यथार्थलाई लुकाइदिन्छ अनि मान्छे भ्रममा बाँच्न बाध्य हुन्छ ।
सुखी हुनु अनि खुशी हुनुको लागि एउटा मात्र सुत्र छ त्यो हो विगतमा नबाँच्नु । विगतमा बाँच्नेहरु एकदिन बर्बाद हुन्छन् । हामी यती अज्ञानतामा बाँचेकाछौ की हाम्रो जीवनमा कुनै भिजन नै छैन न त लक्ष्य छ, न त उनै उद्देश्य, न आफु राम्रो छ, न त अरुलाई राम्रो देख्न सक्छ । बाटोहरु अन्त्यहिन छन् यदि जीवनमा कुनै भिजन भइदिएको भए गन्तब्य अवश्य भेटिने थियो । भिजन नहुने हरुले गन्तब्य कहिले भेट्दैनन् । हामी दुःखित हुन्छौं ।
संसार दुःखको सागर हो, भन्दै आत्महत्या गर्न पछि पर्दैनन् । यसरी नै संसारबाट लोप हुन्छन् कायरहरु । आत्महत्या गर्नु भनेको जीवन प्रति कुनै पनि दायित्व बहन गर्न नसक्नु हो । अनि आफूलाई आफै लाई हाराउनु हो । अर्को शब्दमा भन्नुपर्दा कायरहरुको प्रिय साथी नै आत्माहत्या हो । किनकी उनिहरु त्यही रोज्छन् । एउटा सुन्दर गुलावको फूल दियो भने पनि उनीहरु फूलको सुगन्ध लिनु त कहाँ हो कहाँ, काँडा कहाँ छ त्यो खोज्न थाल्छन् । अनि काँडाले घोच्छ र फेरि भन्न थाल्छ, यो फूलको पनि केही अर्थ छैन भनेर गल्लीमा फ्याकी दिन्छ । त्यही फूलको अर्को नाम हो सुन्दर जिन्दगी । यसरी नै आज हजारौले आफ्नो जिन्दगी गल्ली–गल्लीमा कौडीको दाममा फ्याँकी रहेकाछन् ।
निरस अनि निराश मान्छेहरु सुन्दरतालाई पनि कुरुप नै देक्छन् । लक्ष्य भए नै जिन्दगीको लक्ष्यमा पुग्न सकिन्छ । वुद्ध एक गाउँमा हिडिरहेका थिए । साझ पर्नुभन्दा पहिले अर्को गाउँमा पुगि सक्नुपर्ने थियो । बाटोमा एकजना किसानलाई उनले सोधे, मित्रनगर कति टाढा छ यहाँबाट । अनि त्यो किसानले भन्यो मात्र दुई माइल टाढा छ, धेरै छैन अब विस्तारै जानुस् । तीन घण्टा हिडिसक्दा पनि मित्रनगर आएन । फेरि अर्को एक वृद्धालाई सोधे ती वृद्धाले पनि –अब दुई माइल बाँकी छ भने । आउनै लागिसक्यो । राम्रोसँग जानुस् नानी । त्यसपछि वुद्धलाई उनका शिष्यले सोधे, भगवान यी वृद्धले पनि दुई माइल टाढा छ भन्यो वास्तविकता के हो ? अनि वुद्धले जवाफ दिए, यिनी हरुले झुटो बोलेका छैनन् । यिनीहरुले मनको परिभाषालाई राम्ररी बुझेका छन् ।
यसरी नै मनमा आसाहरु जगाइ राख्नु पर्दछ कि, अब लक्ष्य नजिकिँदै छ भनेर यसलाई जीवन कला भनिन्छ । संसार विकासको चरम गतिमा हिडिरहेको छ । मान्छेहरु निकै शिक्षित भइरहेका छन् तर साना तिना कुराहरु भुल्दै गइरहेका छन् । जीवनको सुत्रहरु नबुझ्दा दुःख पाइरहेका छन् । आफू परिवर्तन हुनुभन्दा पनि अरुको आलोचना गरेर अरुलाई परिवर्तन गर्न अग्रसर छन् । जति विकास भइरहेको छ त्यति नै विकृति बढ्दै गइरहेको छ । मान्छे जति एजुकेटेड हुँदैछ त्यति नै कमन सेन्स हराउँदै गएको छ । अचेल मान्छेहरु राम्रो कुरा सुन्ने, बुझ्ने भन्दा पनि झुठा सपना बाढ्नेहरुको पछि लागिरहेका छन् ।