होमपेज / कला / साहित्य
लोक समाज भित्रका हरेक सकारात्मक गतिविधिहरू त्यस समाजका चिनारी हुन् । आफ्नो अस्तिव बचाउनका लागि हरेक समाजले आफ्नो परम्परित जातीय पहिचानका कुराहरूको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सके मात्र आफ्नो मौलिक पहिचान जीवान्त रहन सक्दछ ।
सुर्खेत । लोक समाज र यस अन्तर्गत रहेका मौखिक तथा मौलिक परम्परागत रुपमा हुने सम्पूर्ण मानवीय गतिविधिहरू लोकवार्ताभित्र पर्दछन् । यस अन्तर्गत लोककथा, लोकविश्वास, लोकगीत, लोकवादन, उखान, टुक्का, चुट्किला, लोकचिकित्सा, लोककला, लोकरीति, लोकवस्तु, लोक उत्सव, लोकगाथा, लोक उत्सव, लोकमनोविज्ञान, लोकअनुभूति, लोकपहिरन, लोकखेल, लोकखाद्य, लोकसाहित्य, लोकमहाकाव्य आदि पर्दछन् ।
अंग्रेजीमा Folklore शब्दबाट परिचित यस विषय अन्तर्गत रहेका सम्पूर्ण विधाहरूले आआफ्नाे परिचय दिन सफल रहेका छन् । पश्चिमा विद्वानहरूले जेजस्तो चर्चा गरे तापनि नेपालमा अध्ययन अध्यापनका लागि नया“ विषय भए पनि हाम्रो समाजमा ‘लोक’ शब्दको प्रयोग वैदिक कालदेखि नै प्रचलनमा रहेको पाइन्छ । ‘लोक’ र ‘वार्ता’ शब्दको संयोगबाट लोकवार्ता शब्दको निर्माण भएको पाइन्छ ।
नेपाली, हिन्दी जस्ता देवनागरिक लिपि लेखिने भाषाहरूमा यस शब्दको प्रयोग भाषाको उत्पत्तिसगै भएको भन्दा अत्युक्ति नहोला । लोकवार्ता शब्दले शिक्षित अशिक्षित, सभ्य असभ्य, सहरिया गाउँले, पठित अपठित जेजस्तो भए तापनि मानव जीवनका ज्ञान विज्ञानका पक्षहरूलाई केन्द्रविदुमा राखेर कार्य गर्ने गरेको पाइन्छ । पश्चिममा यसको प्रयोग जोहन थमसद्वारा सन् २२ अगस्त १८४६ मा एथेनियम नामक पत्रिकाका सम्पादकलाई पत्र लेखी फोक्लर (लोकवार्ता) शब्दको प्रयोग गर्नका लागि प्रस्ताव राखेका थिए । यसपूर्व सन् १८१२ मा नै जर्मनीका ज्याकोब ग्रीम र ह्विल्हेम ग्रीमका दाजुभाइले ओरल फोक् न्यारेटिभ्स एण्ड जर्मनिक माइथोलजी नामक महत्वपूर्ण पुस्तक प्रकाशन गरिसकेका थिए ।
कवार्ता विज्ञान विषयलाई एकरुपता दिन गाह्रो भए तापनि यसलाई सरल, बोधगम्य एवम् व्यवस्थित बनाउन विद्वानहरूले प्रयास गरिरहेका छन् । लोकवार्ता आफैमा ज्ञानानुशासनको बाहुल्यता भएको हुनाले यसभित्र धेरै विधाहरू समावेश भएका हुन्छन् । यस अन्तर्गत लोक जीवनका हरेक पक्षहरूलाई यसमा समेटेको पाइन्छ । सामान्यतयाः यसलाई निम्नानुसार हेर्न सकिन्छ । साहित्य, जनसाहित्य, आदिम साहित्य, वाचिक वा मौखिक साहित्य आदि पाइन्छन् ।
लोकवार्ताको भूमिका र प्रयोजन
परम्परागत लोक जीवनका समग्र पक्षहरू नै लोकवार्ताका विधा हुन् । यस्ता विधाहरू परम्परागत रुपमा हस्तान्तरित हुदै आएका छन् । सबै विधाहरूले आआफ्नो वैशिष्ट्यता राख्ने गर्दछन् । क्षेत्रीय भेद र मानवीय गतिविधिका साथमा जीवान्त रहेका विधाहरू विधागत कार्य र विधागत महत्वपूर्ण राख्ने गर्दछन् । समाज र राष्ट्रका धरोहरका रुपमा रहेका यस्ता विधाहरूले समग्र सभ्यताको पहिचान जीवान्त राखेका हुन्छन् । मानव समाजद्वारा दीर्घकालिन ज्ञानका रुपमा स्थापित परम्परित ज्ञानविज्ञानले विशेष भूमिका खेलेको पाइन्छ
अमेरिकाली लोकवार्ताविद् विलियम वास्कमको मान्यता अनुसार चार विशेष प्रयोजन रहेको पाइन्छ ।
(क) लोकवार्ताले संस्कृति झल्काउँछ ।
(ख) लोकवार्ताले परम्परालाई बलियो पार्छ ।
(ग) लोकवार्ताले शिक्षा प्रदान गर्दछ ।
(घ) लोकवार्ताले समाजलाई नियन्त्रणमा राख्दछ ।
१. मौखिक साहित्य
यस अन्तर्गत लोकले परम्परागत रुपमा मान्दै या चालचलनमा ल्याएका गतिविधिहरू नै मैखिक साहित्यलाई वाचिक कला भनिन्छ । यस अन्तर्गत अलिखित साहित्य, लोकप्रिय साहित्य, जन साहित्य, आदिम साहित्य आदि पर्दछन् । परम्परागत रुपमा व्यवहारमा आएका यस्ता कलाहरूमा वाचिक कला अन्तर्गत कथा, आख्यान, उखान टुक्का, किंवदन्ती, अन्धविश्वास आदि पर्दछन् भने गेयात्मक कला अन्तर्गत कविता, काव्य, गाथा, गीत आदि रहेका छन् । श्रव्य दृश्य साहित्यहरूमा श्रव्य दृश्य नाटक आदि पर्दछन् । यिनीहरूको वाचिक र प्रस्तुत गर्नै शैलीमा क्षेत्रीयभेद देखा पर्दछ । यस्ता साहित्यले जनजीवनमा आफ्नो अमिट छाप छोड्न सफल भएका हुन्छन् ।
२. भौतिक संस्कृति
यस अन्तर्गत लोकजीवनमा गरिदै आएका शिलपकला, लोककला, लोक स्थापत्यकला, लोक पहिरन, लोक पाककला आदि लोक समाजका गतिविधिहरू पर्दछन् । यस्ता वस्तुहरूमा मानवीय जीवनका अतिआवश्यक वस्तुहरू रहेका हुन्छन् । पुरात्व, घर, कटेरा, पहिरन, गरगहना, भाडा वर्तन, पहिरन, झ्याल ढोकाहरू, टपरी आदि यसका सामान्य उदाहरण मात्र हुन् । लोकजीवनका खाद्य पदार्थादि सहित लत्ताकपडा, मनोरञ्नका सामग्री, वाद्ययन्त्र, गृह निर्माणका सामग्री जस्ता कार्यहरू भौतिक संस्कृति अन्तर्गत रहेका हुन्छन् ।