ट्रेण्डिङ

होमपेज / समाज

मिठो बोलीका धनी तेजप्रसाद तिवारी

नेपालगाथा २०७५ चैत्र २८ गते बिहीबार १८:५९:२० मा प्रकाशित

''सुर्खेत वीरेन्द्रनगरको तल्लो बजारमा मंगलगढी चोकको करिब ५० मिटर भित्र बजारतिर गएपछि देब्रे साइडमा तिवारी भाडा पसल रहेको छ । त्यही भाडा पसलका प्रोप्राइटर हुन् तेजप्रसाद तिवारी । जो मिठो बोलीका धनी भनेर समेत चिनिनुहुन्छ ।  तपाइ जो कोही पनि एकपटक तिवारी भाडा पसलमा जानुभयो भने तपाइलाई आवश्यक पर्ने भाडाकुँडा त पाउनुहुन्छ नै साथमा मिठो बोलि बचनले तपाइ घण्टौ बसेको पत्तै पाउनुहुन्न । उनै मिठो बोलीका धनी तेजप्रसाद तिवारीको विगत र वर्तमानलाई नेपालगाथाकर्मी चन्द्रा कंडेलले जीवनगाथामा उन्नुभएको छ ।''

चन्द्रा कंडेल, सुर्खेत । तेजप्रसाद तिवारी, आज भन्दा करिब ३५ वर्ष अगाडि बुवा शिवप्रसाद तिवारी र आमा लक्ष्मीकुमारीका जेठा छोराका रुपमा वीरेन्द्रनगर नगरपालिकाको चनौटेमा ठुली आमाको घरमा जन्मनुभएको हो । आफ्नो घर दैलेख भए पनि बुवाले आमालाई हेर्ने दृष्ट्रिकोण राम्रो नभएपछि आमाले बाध्यभएर ठुलो आमाको घरमा जन्म दिनुभएको तेजप्रसादले विगतलाई सम्झनुभयो । ठुलो आमाको घरमा जन्मिए पछि लालन पोषण र हुर्किने काम पनि ठुली आमाको घरमा नै भएको बताउनुहुन्छ तिवारी ।


दुखद् बाल्यकाल 
सानैदेखि मिठो बोल्ने र मिजासिलोे स्वभावका तिवारको बाल्यकाल साविकको गपर्न  गाबिस मेहेलीमा बित्यो । सबैको बाल्यकाल प्रायजसो सुखमय भएपनि तेजप्रसादको बाल्यकाल भने दुःखद् र दर्दनाक तरिकाले बित्यो । उहाँको बाल्यकालका दिनहरु दुःखद् तरिकाले यसरी बिते, जहाँ तिवारीले धेरैजसो अर्काको घरमा बसेर विद्यालयको पढाइसँगै घरको काम गर्नुपर्दथ्यो । यसका साथै तिवारीले सानै उमेरमा नै घाँस, दाउरा, गाई, बाख्रा दिनहुँजसो चराउनु पर्दथ्यो । 


यति मात्र कहाँ हो र अर्काको घरमा हलो जोत्नुका साथै भारी बोकेर भोकभोकै स्कुल तिर दौडेको स्मरण अहिले पनि ताजै छ उहाँलाई । अर्काको घरमा नै बाल्यकाल ब्यतित गर्नुभएका तिवारीले धेरै दिन घरायसी कामकाज, हलोजुवा अर्काको भारी बोक्ने काम गर्नुभयो । कहिलेकाहीँ त काम गर्दागर्दै खाना नै नखाएर भोकभोकै विद्यालय जाँदाको तितो विगतलाई समेत स्मरण गर्नुभयो उहाँले । 
उहाँले विगतका अनुभवलाई एकै स्वरमा भन्नुभयो, ‘सात आठ वर्षको उमेरदेखि नै गाई, बाख्रा चराउनु, घाँस दाउँरा गर्नु, हलो जुवा र अर्काको भारी बोक्ने काम गर्दागर्दै हतार हतार खाना खानु अनि कहिलेकाही त ढिला भएर भोकै स्कुल जानु त्यतिवेलाको सामान्य काम नै थिए ।’ 
तिवारी बुवा आमासँगै नहुँदाको पिँडाले आफुलाई पलपल मर्माहित बनाएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘बुवाले आमालाई हेर्ने नजर नकरात्मक भएपछि आमाको साविकको गर्पन मेहेली सुर्खेतमा चपाईसँग बिहे भयो । यो आमाको रहर थिएन बाध्यता थियो ।’
आमाको विहे भएपछि तेजप्रसाद पनि आमासँगै जानुभयो । जुन घर आमा छोरा दुवैका लागि नौलो थियो । त्यहाँ पनि आमा र छोराले निकै संघर्ष गर्नुपरेको बताउनु हुन्छ तिवारी ।
तिवारीले बाल्यकालदेखि नै गरेको संघषर््ा ३५औं वसन्तसम्म आइपुगे पनि संघर्ष निरन्तर गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘जीवन भनेको नै संघर्ष रहेछ । मैले हालसम्म पनि सुखको अनुभुति गर्न पाएको छैन ।’  
आमाको माया जति पाए पनि तिवारीले आफ्ना बुवाको माया पाउन नसके पछि कता कता जीवनमा नैराश्यता भएको अनुभुति छ उहाँसँग । तर पनि संघर्ष भने उहाँले जारी नै राख्नुभयो । बुवाको माया नपाउँदाको न्यास्रोपनालाई सम्झँदै तिवारीले भन्नुभयो, बुवाको साथ नपाए पनि जीवनमा मैले संघर्षको साथ भने सधै पाइरहेको छु । जसले मलाई आज यो स्थानसम्म ल्याइ पु¥याएको छ ।’

व्यापारको श्रेय बुवालाई
बुवाले माया र साथ नदिए पनि तिवारी बुवासँग असन्तुष्ट भने हुनुहुन्न । बाल्यअवस्थामा बुवाले हेरचाह नगरे पनि तिवारीले अहिले पाउनुभएको सफलताको पछाडि भने उहाँका बुवाको नै भूमिका रहेको छ । आफू अहिले व्यापारी बन्नुमा आफ्नो बुवाकै राय, सल्लाह र मार्गनिर्देशन भएको उहाँले बताउनुभयो । तिवारीले भन्नुभयो, ‘सायद बुवाले मलाई व्यापार तर्फको बाटोमा नहिँडाएको भए म अहिले व्यापारी भएर हजारौको सेवा गर्ने मौका पाउने थिएन होला । म अहिले जुन पेशामा छु यसको श्रेय बुवालाई नै दिन्छु ।’


स्कुले जीवन
श्री आदर्श माध्यमिक विद्यालय मेहेली सुर्खेतमा प्राथमिक तह पढ्न सुरु गर्नुभएका तिवारीले कक्षा १० को अध्ययन सोही विद्यालयमा नै पूरा गर्नुभएको हो । अध्ययनको क्रममा पनि उहाँको जीवन उतार चढाव मै बित्यो । अर्काको भारी बोकेर खान लाउन र पढ्नुपर्ने तिवारीलाई सामान्य शिक्षाको लागि ठूलो दुःख गर्नुपरेको थियोे । चार पाँच कक्षामा पढ्दा कापी, कलमको जोहो गर्न तिवारीले अरुको हलो जोतेको र भारी बोकेको अनुभव ताजै छ । 


पढ्ने चाहना हँुदाहँुदै पनि राम्रो शिक्षा पाउन नसक्नु उहाँको जीवनको दुखद् कुरा हो । राम्रो शिक्षा नपाउँदा अहिले आफु धेरै पछाडि परेको महशुस उहाँलाई भइरहेको छ । पारिवारिक साथ र समर्थन नहुनु, बुवाको माया पाउन नसक्नु जस्ता कारणले गर्दा उहाँको पढाइ भने जस्तो हुन सक्ने कुरै भएन । 
बुवाको चिठीले हर्ष र विष्मात् एकैचोटी
आदर्श माध्यमिक विद्यालय मेहेली सुर्खेतमा तिवारी दश कक्षाको अर्धवार्षिक परीक्षा दिँदै हुनुहुन्थ्यो । परीक्षा सकिएपछि मेहेलीबाट कामको सिलसिलामा वीरेन्द्रनगर आएको वेला मामा घरमा बुवाले चिठी छोड्नुभएको चिठी पाउनुभयो । 
तिवारीलाई बुवाको चिठीले हर्ष र विष्मात् दुवै एकैचोटी बनाइदियो । तिवारी यस कुरामा हर्षित हुनुभयो कि, वर्षौदेखि कुनै वास्ता नगर्नुभएको बुवाले आफूलाई सम्झेर चिठी छोडिदिनुभएको थियो अनि अभिभावकको आवश्यकता पर्ने भए घर सम्झेर आउनु भनेर चिठीमा लेखिएको थियो । 
तिवारीलाई विष्मात् यस कुराले बनायो कि वर्षौदेखि आफूलाई जन्म दिने आमाले गर्नु भएको माया र ममतालाई छाड्नुपर्ने थियो । यस समयमा निकै दोधारमा पर्नुभयो तिवारी ।
तर पनि उहाँले बुवाले घरमा आउनु भनेर लेख्नुभएको चिठीलाई बढी आत्मसाथ गर्दै सुर्खेतको मेहेलीबाट दैलेखमा रहनुभएको बुवासँग पुग्नुभयो । 

आमा छोरा अँगालो हालेर निकै बेर रोयौं

अामालार्इ छाेड्दाकाे क्षणलाई तिवारीले गहभरी आँशु बनाउदै यसरी व्यक्त गर्नुभयो, ‘नजाउँ भने आफ्नो बुवाले बोलाउनु भएको छ, जाउँ भने आफूलाई जन्म दिने आमालाई छाड्नु पर्नेभयो । त्यो क्षण आमा छोरा अँगालो हालेर निकै बेर रोयौं ।’
आमाको मायालाई आत्मसाथ गर्दै र फेरि फेरि आमालाई भेट्न आउने बाचा गर्दै तिवारीले विस्तारै बुवासँगै जाने निर्णका साथ अघि बढ्नुभयो । केही बेर हिँडे पछि तिवारीले आमालाई फर्केर नेहरी अघि जान नै सक्नुभएन । टक्क रोकिनुभयो र आमालाई सम्झेर फेरि आँशुका धारा बगाउनुभयो । 
उता आमा पनि आफुले जन्माएको र पालन पोषण गरेको छोराले छाडेर जाँदाको पीँडालाई आँशुका धारामा व्यक्त गर्दै हुनुहुन्थ्यो । केही बेरको हिँडाइ पछि तिवारीलाई आमाको नजरबाट ओझेलमा पार्यो र हिँडिरहनुभयो बुवालाई भेट गर्ने आशाका साथ ।
बुवालाई भेट गर्ने निधोंसँगै तेजप्रसादले टेष्ट भन्दा पछिको पढाइलाई निरन्तरता दिन पाउनु भएन । उहाँको पढाईको ब्रेक टेष्टमै गएर लाग्यो । 

सरकारी पोशाक लगाएर जनताको सेवा गर्ने रहर अधुरो
तिवारी स्कुले जीवनमा धैरै पढेर सरकारी जागिर खाने सोचमा हुनुहुन्थ्यो । आफ्नो जीवन सुखसँग बिताउने र समाज सेवा गर्ने रहर थियो उहाँलाई । तर अहिले बुवाको मार्गदर्शन र चाहनाका कारण व्यापारी बन्नुभएको छ तिवारी । जागिर खाएर सुखी जीवनयापन गर्ने चाहना भएका तिवारीकोे पेशा फरक भए पनि चाहना भने बदलिएको छैन । उहाँले धेरै पढेर जागिर खाएर समाज सेवा गर्न नपाए पनि आफ्ना ग्राहकहरुलाई सन्तुष्ट बनाएर सेवा गरिरहनु भएको छ ।
उहाँ भन्नुहुन्छ, ‘फरक यत्ति हो सरकारी पोसाक लगाएर जनताको सेवा गर्न नपाए पनि मेरो पसलमा आउने ग्राहकलाई सन्तुष्ट बनाएर सेवा गरिरहेको छु ।’
कुनै पनि व्यक्तिका आमा बुवाको चाहना भनेको आफ्ना सन्ततिले धेरै पढ्नुका साथै असल पनि बनोस् भन्ने हुन्छ । त्यस्तै सपना र चाहना थियो तिवारीकी आमाको पनि । त्यही सपना र चाहना पूरा गर्नका लागि आमा छोरा दुवैले धेरै दुःख गर्नुप¥यो । बुवाले कुनै वास्ता नगरेपछि कक्षा दशसम्म अध्ययन गर्न आमाले सहयोग गरेको उहाँले बताउनु भयो ।
तिवारीले भन्नुभयो, ‘आमाले सोचे जस्तो ठूलो र असल मान्छे त बने या बनिन तर नराम्रो पनि बनेको छैन ।’


ट्रयाक्टर चलाउने हातले पैसा गन्दै
तिवारीलाई करिब तीन वर्ष ट्रयाक्टर चलाएको अनुभव छ । व्यापारमा प्रवेश गर्नुपूर्व उहाँका हातले करिब तीन वर्षजति ट्रयाक्टरको स्ट्रेरिङ घुमाएको राम्रो अनुभव छ । यसैले होला तिवारीलाई कुनै पनि काम गर्नका लागि समस्या छैन । संघर्ष गर्न पाए पछि जुन सुकै काममा सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास छ तिवारीसँग । 
उहाँका ट्रयाक्टर चलाएका हातले यतिवेला भाडाकुडी र पैसा गनिरहेको छ । संघर्षशील व्यक्ति जहाँ पनि सफल हुन्छ भन्ने एउटा राम्रो उदाहरण बन्नुभएको तेजप्रसाद तिवारी ।


दुई लाखको व्यापार २५ लाख 
आफुलाई मध्यम खालको व्यापारी बताउने तिवारी मिठो बोल्ने, लगनशील, इमान्दार र कर्तव्य निष्ठ पनि हुनुहुन्छ । यसैको परिणाम हुनुपर्छ उहाँलाई धेरै ग्राकहरुले पछ्याइहेका हुन्छन् । बिहान उज्यालो भएदेखि बेलुका अध्याँरो नहुने बेलासम्म उहाँ सुर्खेत वीरेन्द्रनगर मंगलगढी चोकैमा रहेको तिवारी भाँडा पसलमा ब्यस्त हुनुहुन्छ । कतै घुम्न जानु, मिठो मसिनो खानु भनेको पहिलो शनिबार र तेस्रो शनिबार हो । ग्राहकलाई  खुशी बनाउनु नै आफ्नो खुशी सम्झने तिवारीले धेरै–धेरै ग्राहकलाई सन्तुष्ट बनाएको सम्झना गर्नुहुन्छ । तिवारीले भन्नुभयो, ‘मैले सानो कोठामा दुई लाख जतिको सामान राखेर पसलको सुरुवात गरेको हुँ । अहिले भने करिब २५ लाख जतिको व्यापार गरिरहेको छु ।’  

सधै खुसी गराउने फर्केका फूलहरु
विसं. २०६६ सालमा विहे गर्नु भएका तिवारीका श्रीमतिका साथै दुई छोरी छन् । नाबालक छोरीसँग रमाउनु तिवारीको खुशीको क्षण हो । तर व्यापारको पेसाका कारण छोरीहरुसँग कुनै दिन त भेट नै नभएको पनि तितो यथार्थ उहाँले सुनाउनुभयो । छोरीहरु बिहान नउठ्दै आफू उठेर हिंडिहाल्नुपर्ने र आफू साँझ घर पुग्दा छोरीहरु सुतिसकेको हँुदा भने तिवारीलाई आफ्नो पेशा प्रति कहिले काँही दिक्क लाग्छ । 


तर पनि धेरै मानिसको माया र सद्भावका कारण आफूलाई व्यापार नै प्यारो लागेको उहाँले बताउनुभयो । आफुले पढ्न नपाए पनि तिवारीले छोरीहरुलाई भने इगरब्रिज माध्यमिक विद्यालयमा पढाई रहनुभएको छ । उहाँले भन्नुभयो, ‘दुःख सुख्ख जे जस्तो भए पनि छोरीले पढ्ने बेलासम्म पढाउछु र छोरीलाई पनि आफुजस्तै समाजसेवी बनाउने चाहना राखेको छु ।’

उद्योग वाणिज्य संघमा तिवारी
बिहे गरेर घर परिवारबाट अलग भएर बस्नुभएका तिवारी दुःख सुख गर्दै व्यापार पेशा अङ्गाल्नुभयो । सबैको माया र आफ्नो इमान्दारिताका कारण अहिले उहाँ उद्योग वाणिज्य संघको सदस्य हुनुन्छ । उहाँले स्मरण गर्दै भन्नुभयो, ‘मेरो बोली र इमान्दारिताका कारण स्कुले जीवनमा कलास मनिटरको रुपमा शिक्षक र साथीहरुले विजेता बनाउनु भएको थियो । त्यो मेरो पहिलो सफलता थियो । अहिले पनि मेरो इमान्दारिता र बोली वचनकै कारण मेरा मित्रहरुले उद्योग वाणिज्य संघको चुनाव जिताउनु भयो । अब मैले आफ्नो कार्यकाल सुर्खेतका व्यापारीहरुकै हितमा ब्यतित गर्नेछु ।’

भविष्यको बाटो 
व्यापार क्षेत्रलाई नै सबल र सुदृढ बनाउँदै यसै क्षेत्रलाई सशक्त बनाएर ग्राहकलाई सेवा दिँदै सन्तुष्ट बनाउने अभियानमा तिवारी जुट्नुभएको छ । समाजमा रहेका दुःखी, गरिबको पनि छुट्टै तरिकाले सेवा गर्ने तिवारीकोे आगामी योजना रहेको छ । उहाँको परिकल्पनालाई शब्दमा कोर्ने हो भने भन्न सकिन्छ कि, ग्राहक र गरिबको दिन रात सेवा गर्न पाउनु नै सच्चा भगवानसँग भेट घाट गर्नु हो । 
उहाँ भन्नुहुन्छ, ‘म चाहन्छु मैले कुनै पनि दुःखी, गरिबलाई देख्न र हेर्न नपरोस् । कोही पनि गरिब र दुःखी भएर होइन कि सुखी र खुसी भएर म कहाँ भेट्न आउन् तर यो सम्भव पनि छैन । किनभने समाजमा कोही पनि एकै नासको हुँदैन ।’
तिवारीले बाल्यकालको सम्झना गर्दै भन्नुभयो, ‘आमाबुवा हुँदा हुँदै त मैले यति धेरै दुःख पाएँ, यो संसारमा कोही आफन्त नभएका एक्ला मानिस पनि छन्, गरिब पनि छन्, दुःखी पनि छन् । जो जस्तो अवस्थामा भए पनि हरेस नखाएर जीवन जीउने हो भने एक चोटी अवश्य सफल हुन सकिन्छ ।’
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top