ट्रेण्डिङ

होमपेज / समाज

ईरास्मस प्लस एनएसआइएस परियोजनाको राष्ट्रिय सचेतना कार्यक्रम सम्पन्न

डिजिटल सीप, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने

नेपालगाथा २०८३ आश्विन १ गते बिहीबार २२:१३:१५ मा प्रकाशित

नारायण कंडेल, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा ईरास्मस प्लस एनएसआइएस परियोजनाको राष्ट्रिय सचेतना कार्यक्रम बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालले एनएसआइएस परियोजनाले डिजिटल सीप, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस परियोजनामार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्दै विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा रजिष्ट्रार डा. सुदीप ठकुरीले शुभकामना मन्तव्य व्यक्त गर्दै एनएसआइएस परियोजनाको सफलताको कामना गर्नुभयाे। साथै, परियोजनाका आगामी गतिविधिहरू सफलतापूर्वक सम्पन्न हुँदै अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

आयरल्यान्डस्थित टेक्नोलोजिकल युनिभर्सिटी अफ द स्याननका परियोजना संयोजक एवं कार्यक्रमका विशेष अतिथि प्याड्रिक किर्बीले परियोजनाको उद्देश्य, गतिविधि तथा उपलब्धिबारे जानकारी प्रस्तुत गर्नुभएको थियो। साथै, उहाँले आगामी सन् २०२७ अप्रिलदेखि १० वटा मोड्युलमा आधारित अनलाइन कोर्सहरू निःशुल्क रूपमा अध्ययन गर्न मिल्ने गरी तयारी भइरहेको समेत जानकारी गराउनुभएको थियो।

त्यसैगरी, प्राविधिक सत्रअन्तर्गत ग्रीसस्थित युनिभर्सिटी अफ क्रेटका प्राध्यापक मानोलिस कौकुराकिसले परियोजनामार्फत परिवर्तन, दीर्घकालीन प्रभाव तथा दक्षिण एसियाको दिगो विकासमा पुर्‍याउन सकिने योगदानका विषयमा किनोट प्रस्तुति दिनुभएको थियो।

त्यस्तै, रोमानियास्थित ट्रान्सिल्भानिया युनिभर्सिटी अफ ब्रासोभकी प्राध्यापक एन्जेला रेपानाभिचिले अनुसन्धान, सूचना तथा डिजिटल सीपमार्फत दक्षिण एसियामा नवप्रवर्तन प्रवर्द्धनसम्बन्धी विषयमा किनोट प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा ‘एनएसआइएस परियोजनाबाट सिकाइ तथा आगामी कार्यदिशा’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। प्यानल छलफलमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना प्रविधि संयोजक पन्चदेव भट्ट, पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक एवं एनएसआइएस परियोजनाका संयोजक पुकार चौधरी र काठमाडौं विश्वविद्यालय अन्तर्गत परियोजनाका सदस्य बिनिता सुन्दर चौधरी प्यानल सदस्यका रूपमा सहभागी हुनुभएको थियो भने छलफलको सहजीकरण पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक कोमल दुलालले गर्नुभएको थियो।

छलफलमा अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहकार्यबाट प्राप्त अनुभव, डिजिटल सीप, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी सिकाइ, नेपाली साझेदारले प्राप्त गरेका संस्थागत लाभ, परियोजनाबाट प्राप्त ज्ञान तथा सीपलाई शिक्षण, अनुसन्धान र शैक्षिक गतिविधिमा प्रयोग गर्ने उपाय तथा परियोजनापछि ज्ञान, सीप, उपकरण र प्रणालीको दिगोपनालगायतका विषयमा छलफल गरिएको थियो।

ईरास्मस प्लस एनएसआइएस परियोजना युरोपेली संघको सहयोगमा सञ्चालित क्षमता अभिवृद्धिसम्बन्धी परियोजना हो, जसले नेपाल, भारत र श्रीलंकाका उच्च शिक्षण संस्थामा अनुसन्धान, डिजिटल सीप, नवप्रवर्तन तथा उद्यमशीलता विकासमा सहजीकरण गर्दै आएको छ। परियोजनाअन्तर्गत पुस्तकालय तथा सूचना सेवाको क्षमता अभिवृद्धि, विभिन्न मोड्युलमा आधारित पाठ्यक्रम तथा अनलाइन सिकाइ सामग्री विकास र अनुसन्धानकर्ता तथा व्यवसायसँग विश्वविद्यालयको सहकार्य सुदृढीकरणमा जोड दिइएको छ।

एनएसआइएस परियोजनाका संयोजक उपप्राध्यापक कल्पना पौडेलकाे अध्यक्षतामा सञ्चालन भएकाे राष्ट्रिय सचेतना कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कुलका डीन, कार्यकारी निर्देशक, अन्य पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, परियोजनासँग आबद्ध विभिन्न देशका सदस्यहरूको समेत भर्चुअल माध्यम बाट सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन परियोजनाका सदस्य एवं उपप्राध्यापक कमला तिवारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top