ट्रेण्डिङ

होमपेज / समाज

अक्सिजन प्लान्ट र आवश्यक सामग्री उपलब्ध गराउन स्वास्थ्यमन्त्रीलाई अनुरोध

कर्णाली प्रदेश अस्पतालमा दैनिक ५०० सिलिन्डर भर्ने अक्सिजन प्लान्ट स्थापना गर्न माग

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १७:५३:३५ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभा र कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई भेटेर कर्णाली प्रदेशका लागि अक्सिजन प्लान्ट र आवश्यक सामग्री उपलब्ध गराउन अनुरोध गरेका छन् । कर्णाली प्रदेशमा कोभिड १९ का कारण बिरामीको संख्या र मृत्युको संख्या बढ्न थालेपछि यसको रोकथामका लागि नेकपा एमालेका नेताहरुले क्रियाशीलता बढाएका हुन् । प्रदेश सरकारले जुन गतिमा कोरोना रोकथामका लागि चासो र क्रियाशीलता देखाउनुपर्ने थियो सो गर्न नसकेपछि कर्णाली प्रदेश सभामा प्रतिपक्षमा रहेको नेकपा एमालेले आफै क्रियाशिलता देखाएको हो । 

प्रदेश सरकार मातहत रहेको कर्णाली प्रदेश अस्पतालले अक्सिजनको अभावमा थप बिरामी भर्ना नलिने सूचना प्रकाशित गर्नु दुःखद् कुरा भएको बताउँदै नेकपा एमाले कर्णाली प्रदेशका नेताहरुले कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि चाहिने अत्यावश्यक सामग्रीको अभावले आम नागरिकले व्यहोर्नु परेको कष्टकर दैनिकी र मानवीय क्षतिप्रति संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । 
नेताहरुले कर्णाली प्रदेशको हालको अवस्था र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक सबै अस्पतालहरुमा अक्सिजन प्लान्टको स्थापना, आइसीयु र भेन्टिलेटरसहितका बेड, चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधीको उचित व्यवस्थापन तथा सहयोग गर्न स्वास्थ्य मन्त्रीसँग अनुरोध गरेका छन् । 
नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कंडेल र प्रमुख सचेतक गुलावजंग शाहद्वारा हस्ताक्षरित पत्रमा कर्णाली प्रदेश अस्पतालमा दैनिक ५०० सिलिन्डर भर्ने अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । 
यसैगरी कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालहरुमा न्युनतम सेवा उपलब्ध गराउन अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक बजेट र जनशक्तिका साथै प्रदेश अस्पतालमा ५०० र अन्य जिल्ला अस्पतालहरुका लागि ५०० अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराउन माग गरिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग कर्णाली प्रदेशको कोभिड १९ को अवस्था अवगत र आवश्यक सामग्री उपलब्धताको अनुरोधका लागि प्रतिनिधिसभा सुर्खेतका सांसद धु्रवकुमार शाही, दैलेखका राजबहादुर बुढाक्षेत्री र पार्वतीकुमारी बिशुंखे र मुगुका मोहन बानियाँसँगै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको समेत उपस्थिति रहेको थियो । 
स्वास्थ्य मन्त्रीसँगको भेटघाट पछि कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले संघीय सरकार र स्वास्थ्य मन्त्री कर्णालीको कोभिड १९ को अवस्थाका बारेमा गम्भीर बनेको र कर्णालीका मागलाई सकेसम्म छिटो समाधान गर्ने बताएको जानकारी दिनुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top