होमपेज / खेलकुद
काठमाडौं। यसपटककाे फिफा विश्वकप २०२६ मा सहभागी सबै ४८ टाेली खाली हात फर्कनुपर्ने छैन। सहभाग सबै टाेलीले केही मात्रामा भए पनि धनराशी प्राप्त गर्नेछन् ।
फिफा विश्वकप २०२६ मा सहभागी ४८ टोली मध्ये यस विश्वकपको विस्तारित ढाँचामा अब केवल चार टोलीमात्र उपाधिको प्रतिस्पर्धामा रहेका छन्। आज र भोलि मध्यरातमा हुने दुई सेमिफाइनको खेलपछि फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ।
जारी विश्वकपको कुल पुरस्कार राशी इतिहासकै सबैभन्दा ठूलो हुनेछ। यस संस्करणका लागि फिफाले कुल ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३३ अर्ब ७७ करोड रुपैयाँ) पुरस्कार छुट्याएको छ।
यसअघि फिफाले पुरस्कार राशी ७२७ मिलियन डलर हुने घोषणा गरेको थियो, जुन २०२२ को कतार विश्वकपको तुलनामा ५० प्रतिशत बढी थियो।
तर अप्रिलमा फिफाले तयारी भत्ता र आधारभूत सहभागिता रकम बढाउँदै कुल पुरस्कार राशि ८७१ मिलियन डलरसम्म पुर्याएको हो।
प्रतियोगितामा टोलीले जति अगाडि बढ्छ, त्यति धेरै पुरस्कार प्राप्त गर्नेछ। फिफाले स्थानअनुसार पुरस्कार यसरी निर्धारण गरेको छः
विजेता – ५० मिलियन डलर (७ अर्ब ६६ करोड ५० लाख रुपैयाँ)
उपविजेता – ३३ मिलियन डलर (५ अर्ब ५ करोड ८९ लाख रुपैयाँ)
तेस्रो स्थान – २९ मिलियन डलर (४ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ)
चौथो स्थान – २७ मिलियन डलर (४ अर्ब १३ करोड ९१ लाख रुपैयाँ)
पाँचौँदेखि आठौँ स्थान – १९ मिलियन डलर (२ अर्ब ९१ करोड २७ लाख रुपैयाँ)
नवौँदेखि १६औँ स्थान – १५ मिलियन डलर (२ अर्ब २९ करोड ९५ लाख रुपैयाँ)
१७औँदेखि ३२औँ स्थान – ११ मिलियन डलर (१ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ)
३३औँदेखि ४८औँ स्थान – ९ मिलियन डलर (१ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ)
यी प्रदर्शनमा आधारित पुरस्कारका लागि मात्रै ७०३ मिलियन डलर (करिब १ खर्ब ७ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ) छुट्याइएको छ।
हरेक टोलीलाई न्यूनतम १२.५ मिलियन डलर सुनिश्चित
कुल पुरस्कारमध्ये बाँकी १६८ मिलियन डलर (करिब २५ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ) सबै ४८ टोलीलाई उनीहरूको प्रदर्शनको आधारमा नभई समान रूपमा वितरण गरिनेछ।
यसअन्तर्गत प्रत्येक टोलीले २.५ मिलियन डलर (करिब ३८ करोड ३९ लाख ६४ हजार रुपैयाँ) तयारी खर्च (प्रिपरेशन मनी) १६८ मिलियन डलरबाट बराबरी बाँडफाँट हुने अतिरिक्त टोली सहयोग रकम प्राप्त गर्नेछ।
यसरी समूह चरणमै बाहिरिए पनि प्रत्येक टोलीले कम्तीमा १२.५ मिलियन डलर (करिब १ अर्ब ९१ करोड ६२ लाख ५० हजार रुपैयाँ) पाउने सुनिश्चित छ। यसमा न्यूनतम १० मिलियन डलरको सहभागिता शुल्क र २.५ मिलियन डलरको तयारी भत्ता समावेश छ।
फिफाका अनुसार तयारी भत्ता प्रशिक्षण शिविर, यात्रा तथा प्रतियोगिताअघिका आवश्यक खर्चका लागि प्रयोग गरिनेछ।
त्यस्तै अतिरिक्त सहयोग रकम टोलीको भ्रमण, व्यवस्थापन, प्रशासनिक खर्च तथा टिकट व्यवस्थापनमा आर्थिक असमानता घटाउने उद्देश्यले उपलब्ध गराइनेछ।
यसपटक सेमिफाइनलमा पुगेका चारै टोली फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ल्यान्डले यसअघि पनि उपाधि जितिसकेकाले नयाँ विजेता पाउने सम्भावना समाप्त भइसकेको छ।