ट्रेण्डिङ

होमपेज / खेलकुद

फिफा विश्वकप २०२६ को अन्तिम वरीयता सार्वजनिक

स्पेन एक नम्बरमा रहँदा इराक ४८औं नम्बरमा सीमित

नेपालगाथा २०८३ श्रावण ५ गते मंगलबार ००:०१:४० मा प्रकाशित

काठमाडौं । फिफाले विश्वकप २०२६ मा सहभागी ४८ टोलीको अन्तिम वरीयता सार्वजनिक गरेको छ। स्पेन प्रतियोगिताको शीर्ष स्थानमा रह्यो भने उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा रहेकाे छ। फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार मानेको जनाएको छ ।

साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराउँदै फाइनल पुगेको स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्‍यो। प्रतियोगिताभर उसले केवल एक गोलमात्र बेहोरेको थियो।

यता साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलसम्म पुग्यो तर अन्तिम बाधा पार गर्न सकेन । समूह चरणमा तीनै खेल जित्दै नकआउट पुगेको टोलीले केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इंग्ल्यान्डलाई रोमाञ्चक खेलमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यस्तै, सन् १९६६ पछि पहिलो पटक विश्वकपमा शीर्ष तीनभित्र स्थान बनाउन इंग्ल्यान्ड सफल भयो । समूह चरणमा शीर्ष स्थान हासिल गरेको टोलीले डिआर कङ्गो, मेक्सिको र नर्वेलाई हराउँदै सेमिफाइनल पुग्यो । अर्जेन्टिनासँग हार बेहोरेपछि तेस्रो स्थानको खेलमा फ्रान्सलाई अविश्वसनीय ६–४ ले हराउँदै प्रतियोगिता सुखद अन्त्य गर्‍यो ।

फ्रान्स उपाधिको प्रमुख दाबेदार मानिए पनि अन्तिम दुई खेलमा लगातार पराजित भयो । समूह चरणमा सेनेगल, इराक र नर्वेलाई हराएको टोलीले नकआउटमा स्वीडेन, पाराग्वे र मोरक्कोलाई पराजित गर्दै अन्तिम चारमा पुगेको थियो । तर सेमिफाइनलमा स्पेन र तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग हार्दै चौथो स्थानमा चित्त बुझायो ।

२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं स्थान हासिल गर्‍यो । एर्लिङ हालान्डको नेतृत्वमा समूह चरण पार गरेको टोलीले कोट डिभोर र ब्राजिललाई हराएर क्वाटरफाइनल पुग्यो । अन्तिम आठमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा पराजित भएपछि उसको ऐतिहासिक यात्रा टुंगियो ।

त्यसैगरी, कतार २०२२ को निराशापछि बेल्जियमले यसपटक बलियो पुनरागमन गर्दै छैटौं भयो । समूह चरणबाट अघि बढेपछि उसले सेनेगलविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्यो भने अमेरिकालाई ४–१ ले हराउँदै क्वाटरफाइनल पुग्यो। अन्तिम आठमा स्पेनसँग पराजित भएपछि उसको यात्रा सकियो ।

कतार विश्वकपको ऐतिहासिक सेमिफाइनल यात्रापछि मोरक्कोले यसपटक पनि प्रभावशाली प्रदर्शन गर्‍यो तर सातौं स्थानमा सीमित रह्‍यो । समूह चरणमा ब्राजिलसँग बराबरी खेल्दै स्कटल्यान्ड र हैटीलाई हरायो। त्यसपछि नेदरल्यान्ड्स र आयोजक क्यानडालाई पराजित गर्दै क्वाटरफाइनल पुग्यो, जहाँ फ्रान्ससँग २–० ले पराजित भयो ।

स्विट्जरल्यान्डले समूह चरणमा बोस्निया एन्ड हर्जेगोभिना र क्यानडालाई हराउँदै तथा कतारसँग बराबरी खेल्दै शीर्ष स्थान हासिल गर्‍यो । नकआउटमा अल्जेरियालाई हराएर क्वाटरफाइनल पुगेको टोली अन्तिम समयमा अर्जेन्टिनासँग ३–१ ले पराजित भयो। प्रतियोगिताभरको प्रदर्शनका आधारमा उसले मोरक्कोसँग संयुक्त सातौं स्थान प्राप्त गर्‍यो ।

फिफा विश्वकप २०२६ को अन्तिम वरियता

१. स्पेन
२. अर्जेन्टिना
३. इंग्ल्यान्ड
४. फ्रान्स
५. नर्वे
६. बेल्जियम
७‍. मोरक्को
७. स्विट्जरल्यान्ड
९. मेक्सिको
१०. कोलम्बिया
११. ब्राजिल
१२. अमेरिका
१३. पोर्चुगल
१४. क्यानडा
१५. इजिप्ट
१६. पाराग्वे
१७. नेदरल्यान्ड्स
१८. जर्मनी
१९. आइभरी कोस्ट
२०. क्रोएसिया
२१. जापान
२२. अष्ट्रेलिया
२३. डीआर कङ्गो
२४. घाना
२५. इक्वेडर
२५. दक्षिण अफ्रिका
२७. स्विडेन
२८. अस्ट्रिया
२९. बोस्निया एन्ड हर्जेगोभिना
३०. अल्जेरिया
३१. सेनेगल
३२. केप भर्डे
३३. इरान
३४. दक्षिण कोरिया
३५. टर्की
३६. स्कटल्यान्ड
३७. उरुग्वे
३८. साउदी अरेबिया
३९. चेकिया
४०. न्युजिल्यान्ड
४१. कतार
४२. कुरासाओ
४३. पानामा
४४. जोर्डन
४५. हैटी
४६. उज्बेकिस्तान
४७. ट्युनिसिया
४८. इराक

प्रतिक्रिया

सम्बन्धित खवर

Top