होमपेज / राजनीति
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुस ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा पार्टीको कर्णाली प्रदेशस्तरीय भेला र बैठकको आयोजना गर्ने भएको छ ।
बैठक र भेलालाई सम्वोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वामदेव गौतम , ईश्वर पोखरेल र विष्णु पौडेललगायतका नेताहरु आउने भएका छन् ।
प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माका अनुसार पुस ५ गते हुने प्रदेश कमिटीको बैठकलाई प्रचण्ड, गौतम र पौडेललगायतले सम्वोधन गर्नेछन् ।
त्यस्तै पुस ६ गतेको भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्वोधन गर्ने कार्यक्रम छ । प्रदेशस्तरीय भेलामा कर्णाली प्रदेशका १० जिल्लाबाट पार्टीको जिल्ला कमिटीभन्दा माथिका पार्टी नेता, स्थानीय तहमा नेकपाबाट निर्वाचित प्रमुख उपप्रमुख, प्रदेशसभा सदस्य र पार्टीका केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।
एक नेताकाअनुसार विभिन्न जिल्लाबाट आउने सहभागी, केन्द्रबाट आउने अतिथिको व्यवस्थापनबारे कमिटीले आवश्यक छलफल गरिरहेको बताए । प्रदेश अध्यक्ष गोरख बोगटीले बैठकको तयारी अन्तिम चरणमा पुगेको र भेलामा आउने नेता कार्यकर्ताले होटलमा खाने बस्ने खर्च आफैंले मिलाउने गरी व्यवस्था मिलाइएको बताए । नेकपाको प्रदेशस्तरीय बैठक करिब ६ महिनापछि बस्न लागेको हो ।