ट्रेण्डिङ

होमपेज / खेलकुद

रोहितको कीर्तिमानमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

नेपालगाथा २०८२ कार्तिक १३ गते बिहीबार १६:०७:१७ मा प्रकाशित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज(बिहीबार) यूएईको दुबईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल खडा गरेको हो । नेपालका कप्तान रोहितले सम्हालिएर खेल्दै सर्वाधिक १०९ रन बनाए ।

एउटा एन्डबाट लगातार विकेट जाँदा अर्को एन्डमा अडिएका रोहितले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो । योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर पनि बनेका छन् ।

यसअघि रोहितले सन् २०२२ को मार्चमा त्रिवि क्रिकेट मैदानमै सम्पन्न पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए । उनले पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट कुनै पनि ब्याटरले बनाएको व्यक्तिगत उच्च स्कोरसमेत हो ।

रोहितबाहेक, ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३५ रन बनाए । आरिफ सेखले ४२ बलमा दुई चौकासहित २७ रन थपे । आरिफ र रोहितले ६१–३ को स्थितिबाट चौथो विकेटका निम्ति ७० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । १३१–४ को स्थितिबाट रोहितले दीपेन्द्रसँग पनि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । करण केसीले आठ बलमा एक चौका र एक छक्कासहित रन थपे ।

नेपालका अरू ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् । अलराउन्डर गुल्सन झा ‘गोल्डेन डक’ भए । यूएईका जाहिद अलीले समान तीन विकेट लिए । जुनैद सिद्दिकीले तीन विकेट लिए । मोहम्मद रोहिद र हैदर अलीले समान एक–एक विकेट हात पारेका थिए ।

शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा रहेकाे छ । नेपाल यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले भने पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top