ट्रेण्डिङ

होमपेज / प्रबिधि

गुगलको नयाँ ल्यापटप सिरिज ‘गुगलबुक’ सार्वजनिक

जेमिनाई एआई र एन्ड्रोइड एकीकरण

नेपालगाथा २०८३ आश्विन ६ गते मंगलबार १९:५१:२१ मा प्रकाशित

काठमाडौं । गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै आफ्नो नयाँ प्रिमियम ल्यापटप सिरिज ‘गुगलबुक’ (Googlebook) सार्वजनिक गरेको छ । कम्पनीले सोमबारदेखि यसको प्रि-अर्डर खुला गरेको हो । अमेरिकामा अक्टोबर ४ देखि बिक्री सुरु हुनेछ भने क्यानडा, बेलायत, आयरल्यान्ड, फ्रान्स, जर्मनी र अस्ट्रेलियामा अक्टोबर ५ देखि उपलब्ध हुने गुगलले जनाएको छ ।

एन्ड्रोइड फोनसँग सहज रूपमा जोडिएर काम गर्न सक्ने यो ल्यापटप कम्पनीको जेमिनाई एआई टुललाई केन्द्रमा राखेर निर्माण गरिएको हो । गुगलबुकले एप्पलको कम मूल्यको ल्यापटप ‘म्याकबुक नियो’ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

गुगलबुक एन्ड्रोइडको प्रविधि र ‘क्रोमओएस’ का डेस्कटप फाउन्डेसनलाई संयोजन गरेर तयार गरिएको नयाँ श्रेणीको ल्यापटप भएको गुगलले जनाएको छ । यसलाई गुगलको जेमिनाई इन्टेलिजेन्सका लागि डिजाइन गरिएको छ भने एन्ड्रोइड फोनसँग सिधै जोडिएर काम गर्न सक्ने बनाइएको छ ।

गुगलले गुगलबुकका प्रारम्भिक मोडेल एसर, एसुस, डेल, एचपी र लेनोभोसँगको सहकार्यमा ल्याएको छ । यसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) तोकिएको छ । ल्यापटपमा एल्युमिनियम, म्याग्नेसियम एलोय र कार्बन फाइबरजस्ता प्रिमियम सामग्री प्रयोग गरिएको छ ।

मोडेल अनुसार २.८K ओएलइडीसम्मका टचस्क्रिन, ह्याप्टिक ग्लास ट्र्याकप्याड र ब्याकलिट किबोर्ड उपलब्ध हुनेछन् । इन्टेल तथा क्वालकमका प्रोसेसर र ४५ टप्सभन्दा बढी क्षमताका न्युरल प्रोसेसिङ युनिट (एनपीयू) प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले १४ घण्टासम्म ब्याट्री ब्याकअप दिन सक्छ ।

एन्ड्रोइड फोनसँगै चल्ने

गुगलबुकको मुख्य विशेषतामध्ये एन्ड्रोइड फोनसँगको एकीकरण हो । नयाँ ल्यापटप सेटअप गर्दा फोनका सेटिङ, सेभ गरिएका पासवर्ड, वाइफाइ नेटवर्क र मेसेज ल्यापटपमा सार्न सकिने गुगलले जनाएको छ । यी सामग्रीलाई एन्ड-टु-एन्ड इन्क्रिप्सनले सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

यसमा ‘कन्टिन्यु अन’ (Continue On) फिचरमार्फत फोनमा सुरु गरेको काम ल्यापटपमा निरन्तरता दिन सकिन्छ । त्यस्तै, ‘फाइल्स’ एपबाट फोनमा रहेका फाइल तथा फोटो हेर्न र खोल्न सकिनेछ ।

‘कास्ट माई एप्स’ मार्फत भने फोनमा रहेका एपलाई ल्यापटपको डेस्कटप विन्डोमा स्ट्रिम गरेर प्रयोग गर्न सकिनेछ । उदाहरणका लागि फोनमा रहेको मेसेजिङ एपबाट आएको कोड हेर्न वा डेलिभरी एप प्रयोग गर्न फोन नै हातमा लिनुपर्ने छैन ।

जेमिनाईका लागि विशेष एआई फिचर

गुगलबुकमा जेमिनाईलाई डेस्कटपमै प्रयोग गर्न मिल्ने गरी विभिन्न एआई फिचर राखिएको छ । ‘म्याजिक पोइन्टर’ मार्फत कर्सर चलाएर स्क्रिनमा रहेको सामग्रीमा जेमिनाईलाई बोलाउन सकिन्छ । यसबाट स्क्रिनमा रहेको टेक्स्ट वा फोटोको विश्लेषण तथा अनुवादलगायतका काम गर्न सकिनेछ ।

त्यस्तै, ‘र्‍याम्ब्लर’ ले बोलेर राखिएका अव्यवस्थित नोट वा विचारलाई व्यवस्थित लेख, हेडिङ र चेकलिस्टमा रूपान्तरण गर्न सक्छ । यसले एकभन्दा बढी भाषामा बोलेको सामग्रीलाई समेत व्यवस्थित गर्न सक्ने गुगलले जनाएको छ ।

‘क्रियट माई विजेट’ फिचरमार्फत कोड नलेखी आफ्नो आवश्यकता अनुसार डेस्कटप विजेट बनाउन सकिनेछ ।

एन्ड्रोइड एपदेखि डेस्कटप सफ्टवेयरसम्म

गुगलबुकमा डेस्कटपका लागि तयार गरिएको क्रोम ब्राउजरसँगै एक्सटेन्सन प्रयोग गर्न सकिनेछ भने प्ले स्टोरका लाखौँ एन्ड्रोइड एप उपलब्ध हुनेछन् । एडोबी फोटोसप, लाइटरुम र क्यापकट जस्ता क्रिएटिभ टुलसमेत चलाउन सकिने गुगलले जनाएको छ । नेटफ्लिक्स र एचबीओ म्याक्सलगायतका स्ट्रिमिङ प्लेटफर्ममा अफलाइन हेर्नका लागि सामग्री डाउनलोड गर्न सकिनेछ । डेभलपरका लागि गुगलबुकमा ‘एन्टिग्राभिटी’ एआई एजेन्ट डेभलपमेन्ट प्लेटफर्म उपलब्ध हुनेछ । पूर्ण टर्मिनल वातावरणमार्फत क्लाउड कोड तथा एन्टिग्राभिटी सीएलआई जस्ता टुल प्रयोग गरेर कोडिङ गर्न पनि सकिनेछ ।

१० वर्षसम्म सफ्टवेयर अपडेट

सुरक्षाका लागि गुगलबुकमा क्रोमओएसकै सुरक्षा संरचनालाई आधार बनाइएको गुगलले जनाएको छ । यसमा १० वर्षसम्म सफ्टवेयर अपडेट सुविधा रहने गुगलले जनाएको छ । यसमा गुगल टाइटन हार्डवेयर रुट अफ ट्रस्ट, डिफेन्स-इन-डेप्थ आर्किटेक्चर तथा अन-डिभाइस मालवेयर डिटेक्सन प्रयोग गरिएको छ ।

यसमा लेभल ५ सुरक्षा प्रमाणित पीकेभिएम हाइपरभाइजरसमेत प्रयोग गरिएको छ, जसले छुट्टै लिनक्स वातावरण उपलब्ध गराउँछ । यसबाट डेभलपरले लिनक्स टुल र कोड रिपोजिटरी चलाउन सक्नेछन् ।

गुगलबुकको मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ । प्रत्येक डिभाइससँग १२ महिनाको गुगल एआई प्रो, ५ टीबी क्लाउड स्टोरेज, जेमिनाई एड्भान्स्ड टुल तथा तीन महिनाको युट्युब प्रिमियम र एडोबी फोटोसप लगायतका सेवा समावेश रहने गुगलले जनाएको छ । टेकपानाबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top