ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी साकाेसको २८औँ वार्षिक साधारणसभा

नेपालगाथा २०८३ आश्विन २४ गते शनिबार २१:०३:१३ मा प्रकाशित

सुर्खेत। जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभा शनिबार संस्थाको आफ्नै प्राङ्गण, वीरेन्द्रनगर–४, कालागाउँ, सुर्खेतमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारी संस्था सफल हुनका लागि सुशासन, नीति, विधि र प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहने बताउनुभयो। योगीले बैंकिङ तथा वित्तीय कारोबारका क्रममा सर्वसाधारणले भोग्नुपर्ने कठिनाइ न्यूनीकरण गर्ने, संस्थामा सङ्कलित पुँजीलाई सदस्य तथा समुदायको हितमा परिचालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सदस्यहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सहकारी स्थापना गरिएको स्मरण गर्नुभयो।

उहाँले कठिन आर्थिक परिस्थितिमा समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै वित्तीय सेवा प्रदान गरिरहेको र सदस्यहरूलाई लाभांश वितरण गर्ने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो। संस्थाको मूल आधार सुशासन भएको बताउँदै सञ्चालक, कर्मचारी र सदस्य सबै नीति तथा विधिको परिधिमा रहेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सभामा संस्थाका अध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १० हजार ३६९ जना रहेको संस्थाको शेयर सदस्य सङ्ख्या यस आर्थिक वर्षमा २१७ जना नयाँ सदस्य थप भई १० हजार ५८६ पुगेको जानकारी गराउनुभयो।

उहाँले सदस्यहरूको निरन्तर विश्वास, सहभागिता र सहयोग नै संस्थाको विकास तथा सफलताको प्रमुख आधार रहेको उल्लेख गर्दै संस्थालाई थप सबल, सक्षम र उपलब्धिमूलक बनाउँदै उचाइमा पुर्‍याउन आगामी दिनमा पनि सम्पूर्ण सदस्यहरूबाट निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो। साथै, संस्थाको नीति, कार्यक्रम तथा भावी योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक हित अभिवृद्धि गर्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल शेयर पुँजी ७ करोड ७३ लाख ४५ हजार रुपैयाँ कायम भएको छ भने कुल बचत तथा निक्षेप ८९ करोड ७२ लाख ७१ हजार १६५ रुपैयाँ ४१ पैसा पुगेको जानकारी दिनुभयाे । यसैगरी उहाँले संस्थाको कुल ऋण लगानी ७६ करोड ३८ लाख १५ हजार ३९६ रुपैयाँ ८७ पैसा पुगेको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल सम्पत्ति दुई करोड ४३ लाख ५१ हजार ७८ रुपैयाँ ८४ पैसाले वृद्धि भई एक अर्ब छ करोड ७३ लाख ७८ हजार ८४० रुपैयाँ पाँच पैसा पुगेको छ। यस अवधिमा कुल सम्पत्तिको वृद्धिदर २.३३ प्रतिशत रहेको छ। संस्थाको कुल आम्दानी १० करोड ५९ लाख ८० हजार १४१ रुपैयाँ १३ पैसा र कुल खर्च नौ करोड ७४ लाख ६९ हजार ८६४ रुपैयाँ ८९ पैसा रहेको उल्लेख गरिएको छ।

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनारले आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न निकायबाट उपस्थित प्रतिनिधि तथा सदस्यहरूले संस्थाको प्रगति, आगामी कार्यदिशा र सहकारी क्षेत्रको सुदृढीकरणका विषयमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभाले सदस्यहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव तथा संस्थाप्रतिको अपनत्वलाई प्राथमिकता दिँदै आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रवाह गर्ने दिशामा अघि बढ्ने सन्देश दिएको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव यामराज गिरीले गर्नुभएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसी, जिल्ला सहकारी संघ लिमिटेडका संचालक डा हरि शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष ओम प्रसाद ढकाल, सहकारी कर्मचारी क्लब सुर्खेतका अध्यक्ष लछिराम बुढा, वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन सुवेदी लगायत विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति, उपसमिति तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top