होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन गरेर विभिन्न तहको उपाधि प्राप्त गरिसकेका पूर्व विद्यार्थीहरुको भेला सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै ग्य्राजुएट स्कुल अफ ह्युमानिटीज एण्ड सोसल साइन्सेसका डिन डा.आनन्दप्रसाद सुवेदीले पूर्वविद्यार्थीको भेला गर्नुभनेको गुणस्तर सुनिश्चितता (Quality Assurance) का लागि समेत अनिवार्य भएको बताउनुभयो । उहाँले सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागले शुरु गरेको पूर्वविद्यार्थीको भेला अब सबै विभागले गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी परीक्षा व्यवस्थापन कार्यालयका सहप्रमुख युवराज शर्माले पूर्वविद्यार्थीहरुको भेलाले पूर्वविद्यार्थीहरुलाई विभागसँग जोड्नका लागि र उनीहरुको अनुभवलाई नयाँ विद्यार्थीसमक्ष पुर्याउनका लागि सहज हुने बताउनुभयो ।
यसैगरी विभागीय प्रमुखहरुले सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागले शुरुवात गरेको पूर्वविद्यार्थी भेला कार्यक्रमलाई आफ्ना विभागहरुले पनि अनुसरण गर्ने बताउनुभयो ।

सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख उपप्राध्यापक त्रिभुवन बि.सी.ले समयसँगै सञ्चारको स्वरूप पनि परिवर्तन भइरहेको बताउँदै प्रविधिले पत्रकारितालाई तीव्र गतिमा परिवर्तन गरिरहेको बताउनुभयो ।
उहाँले कृत्रिम बुद्धिमत्ता, डिजिटल मिडिया, सामाजिक सञ्जाल, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता र नयाँ सञ्चार प्रविधिले पेशागत संसारलाई नै नयाँ दिशातर्फ लैजाँदै गरेको बताउँदै प्रविधि परिवर्तन भए पनि सत्य, जिम्मेवारी, मानवीय संवेदना, सामाजिक न्याय, नैतिकता र विश्वसनीयताको आवश्यकता कहिल्यै समाप्त नहुनेमा जोड दिनुभयो ।
अहिलेको समयमा सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार अध्ययन गर्ने हामी सबैको जिम्मेवारी झनै बढिरहेकाले विभागले अब केवल विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउने मात्र नभइ, समाज बुझ्ने, प्रश्न गर्ने, सत्य खोज्ने, आवाजविहीनहरूको आवाज बन्ने र समाज रूपान्तरणमा योगदान गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने विभागीय प्रमुख बि.सी.को भनाइ रहेको छ ।

भेलामा सामाजिक कार्य र पत्रकारिताको विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।