ट्रेण्डिङ

होमपेज / खेलकुद

रोहितको शतकमा क्यानडा विरुद्ध नेपालकाे जित

नेपाल‌ २६ अंक सहित छैटौं स्थानमा उक्लिएको छ।

नेपालगाथा २०८३ आश्विन २५ गते आइतबार २०:२१:०२ मा प्रकाशित

काठमाडौं । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले क्यानडालाई २४ रनले हराएको छ। रोहित पौडेलको शतकमा नेपालले जितको लागि २ सय ३६ रनको चुनौती पछ्याएको क्यानडा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ११ रनमा समेटियो। 

त्यसअघि क्यानडाले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३५ रन बनायो। बलिङमा नेपाल टोलीका सन्दीप, करण केसी र ललित नारायण राजवंशी र नन्दन यादवले समान २/२ विकेट लिए।‌

नेपालले निराशाजनक सुरूवात गर्यो। तेस्रो ओभरमा २ विकेट गुमाउँदा १० रन मात्र बनाएको थियो। ओपनर आशिफ शेख ४ रनमा र इशान पाण्डे डक आउट भए। अर्का ओपनर अर्जुन कुमाल २३ रनमा पबिलियन फर्किए । यतिखेर नेपालले ५६ रन बनाएको थियो। 

त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटको लागि ७७ रनको साझेदारी गरे। बसिर ३० रनमा र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए। रोहितले गुल्सन झासँग छैटौं  विकेटको लागि ८२ रनको साझेदारी गरे। गुल्सनले ३४ बल खेल्दै ४ चौका र ३ छक्का सहित ४८ रन बनाए।

क्रिजमा टिकेका रोहितले शतक बनाए। एकदिवसीय क्रिकेटमा यो उनको तेस्रो शतक हो। उनी नेपालको लागि एकदिवसीय क्रिकेटमा तेस्रो शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन्। कुशल भुर्तेल, आशीफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २ पटक शतक बनाएका छन्। 

चौथो क्रममा ब्याटिङमा आएका रोहितले १ सय २५ बल खेल्दै ८ चौका र १ छक्का सहित १ सय रन बनाए। यसअघि उनले टियु मैदानमा पपुवा न्युगिनीसँग र दुबईमा युएई विरुद्ध शतक प्रहार गरेका थिए। उनी १ सय १ रन जोडेर आउट भए। यसपछि करण केसी ४ रनमा तथा नन्दन यादव र ललित नारायण राजवंशी समान २ रनमा आउट भए। 

क्यानडाले १० रन जोड्दा ओपनर युवराज सामरा १ रनमा आउट भए। यसपछि आरोन जोहनसन र समित गोहेलले दोस्रो विकेटको लागि ६४ रनको साझेदारी गरे। यो साझेदारीलाई कप्तान सन्दीप लामिछानेले तोडे। आरोन ४४ रनमा आउट भए। यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्‌ भने ठूलो साझेदारी पनि बन्न सकेन। 

समित ३५ रनमा तथा श्रेयाश मोभा र कप्तान हम्जा तारिक समान २६ रनमा आउट भए। अखिल कुमार अविजित ३० रनमा रहे। क्यानडाका ५ खेलाडीले दोहोरो रन छुन सकेनन्। 

बलिङमा अखिल कुमारले १० ओभरमा १ मेडन सहित ६८ रन सहित सर्वाधिक ४ विकेट लिए। सुखजिन्दर सिंहले ३   विकेट लिंदा जाहिद श्रीजादले २ विकेट झारे। 

यो जितसँगै  नेपाल‌ २६ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। नेपालको यो ३३ खेलमा १२ औं जित हो। क्यानडा २५ अंक सहित सातौं स्थानमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top