होमपेज / खेलकुद
काठमाडौँ । विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक किलियन एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ । २७ वर्षीय एमबाप्पेले यस खेलसँगै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् । उनले ५८औँ अन्तर्राष्ट्रिय गोल गर्दै ओलिर जिरुड लाई पछि पारे ।
संयोगवश जिरुड नै खेलमा कमेन्टेटरका रूपमा उपस्थित थिए र एम्बाप्पेले इन्जुरी समयमा दोस्रो गोल गरेपछि प्रत्यक्ष प्रसारणमै उनलाई बधाई दिएका थिए । एम्बाप्पे फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनको विश्वकप गोल संख्या १४ पुगेको छ, जसले जस्ट फोन्टेनको १३ गोलको पुरानो कीर्तिमान तोडेको हो । फोन्टेनले सन् १९५८ को विश्वकपमा सबै १३ गोल गरेका थिए ।
यससँगै एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । उनी ब्राजिलका रोनाल्डोको १५ गोलभन्दा दुई गोलले मात्र पछाडि छन् भने विश्वकपमा १३ गोल गरेका अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् । विश्वकपमा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा छ, जसबाट एम्बाप्पे अब दुई गोल मात्र टाढा छन् ।