होमपेज / खेलकुद
सुर्खेत । सुर्खेत जिल्ला क्रिकेट संघको बुधवार भएको पाँचौँ चुनावी सभाबाट अध्यक्षमा श्रीधर केसी सर्वसम्मत निर्वाचित भएका छन् । संघको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्षमा रुद्रबहादुर भण्डारी, सचिवमा प्रकाश भुसाल र कोषाध्यक्षमा विदुर कटुवाल चयन भएका छन् । यस्तै सदस्यहरूमा नरेशसिंह थापा, नगेन्द्र उपाध्याय, रमेश शाही, रोशन शाही, सम्राट राई, जनकविक्रम शाही र विश्व भारती चयन भएका छन् ।

‘क्रिकेट रंगशाला बनाउँछौँ’ - सदस्य–सचिव चन्द
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले प्रदेश राजधानीभित्रै आधुनिक क्रिकेट मैदान बनाउन बजेटको व्यवस्था गरिएको बताएका छन् । जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै सदस्य सचिव चन्दले हाल सञ्चालनमा रहेका दुई वटै रंगशाला स्थायी प्रकृतिका भएकाले स्थायी रंगशाला बनाउनका लागि स्थान छनोट भइरहेको बताए ।
नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले क्रिकेट पूर्वाधारका लागि सरकारी सहयोगको खाँचो रहेको बताए । ‘खेलाडी उत्पादन, बनाएका भौतिक संरचनाहरूको हेरचाह र संरक्षण हामी गर्न तयार छौँ,’ उनले भने, ‘पूर्वाधारमा भने सरकारले सहयोग गर्नुपर्छ ।’ क्यानका केन्द्रीय प्रतिनिधि विक्रम विष्टले पूर्वाधार अभावमा पनि प्रतिभाहरू प्रस्फुटन भइरहेको बताए । उनले कर्णाली प्रदेश सरकारले गौरवको योजनाको रूपमा फुटबल रंगशाला बनाएजस्तै क्रिकेटको पनि रंगशाला बनाउनुपर्ने बताए ।

दुई खेलाडीलाई सम्मान
एसियन क्रिकेट काउन्सिलको आयोजनामा भएको अण्डर–१६ इष्टजोन कप क्रिकेट प्रतियोगितामा सुर्खेतबाट सहभागी दुई जना खेलाडीहरूलाई वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको छ । संघले सुर्खेतबाट प्रतिनिधित्व गर्ने खेलाडी विपिनप्रसाद शर्मा र रोशन शाहीलाई वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।