होमपेज / खेलकुद
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल च्याम्पियन बनेको छ । सिंगापुरमा सोमबार सम्पन्न भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेसँगै नेपाल अपराजित रहँदै च्याम्पियन बनेकाे हाे ।
सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो ।नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे ।
हङकङका लागि एहसान खान र आयुष शुक्लाले १-१ विकेट लिए ।
नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो ।
यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा नेपालको टी-२०आईमा कीर्तिमानी रन चेज हुनेछ ।
हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए ।