ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकपमा ४८ देशको सहभागिता

नेपालगाथा २०८३ जेठ १८ गते सोमबार २२:४७:३३ मा प्रकाशित

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप २०२६ मा सहभागी टोलीहरूको संख्या ३२ बाट ४८ पुर्‍याउँदा ४४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको कुराकाओ छनोट हुन सफल भयो ।

अफ्रिकी राष्ट्र डीआर कंगो र हाइटीले पनि ५२ वर्षपछि विश्वकपमा कमब्याक गर्न अवसर पाए । १९७४ मा पहिलोपटक विश्वकप खेलेका दुवै टोली त्यसयता छनोट हुन सकेका थिएनन् । यसबीचमा पटकपटक अवसर पाएपनि उनीहरू छनोट हुन असफल हुँदै आएका थिए ।

यसपटक विश्वकप खेल्ने टोलीको संख्या बढाउँदा एसिया क्षेत्रबाट छनोट हुने कोटाको पनि वृद्धि भएको छ । यसअघि ५ टोली छनोट हुनेमा यसपटक ८ टोली पुगेका छन् । जसको फाइदा जोर्डन र उज्वेकिस्तानले उठाएका छन् । जोर्डनले छनोट खेल्न थालेको ४० वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

सन् १९८६ पछि छनोट हुन नसकेको इराकले पनि ४० वर्षपछि कमब्याकको अवसर पाएको छ । यस्तै, ४४४ वर्ग किलोमिटर मात्रै क्षेत्रफल रहेको देश कुराकाओ र केप भर्डेले पहिलोपटक विश्वकपमा स्पर्धा गर्दैछन् । सन् २००२ देखि विश्वकप छनोटमा सहभागी हुन थालेको केप भर्डे २४ वर्षपछि सपना पूरा गरेको हो ।

यी देशहरूले विश्वकप खेल्न मात्र पाएनन्, विश्व फुटबलमा स्थापित हुने अवसरसमेत प्राप्त गरेका छन् । विश्वकपमा उनीहरूले केही नयाँ प्रतिद्वन्द्वी र केही स्थापित टोलीसँग खेल्ने अवसर पाउनेछन् । जसले विश्वकपमा आफ्नो खेल देखाउँदै प्रदर्शनका आधारमा ती देशका खेलाडीहरूले शीर्ष स्तरका लिग खेल्ने अवसर पनि पाउन सक्नेछन् ।

धेरै देश सहभागी हुँदा विश्वकपप्रति दर्शक र समर्थकको आकर्षण बढ्नेछ । यसले पर्यटन, टिकट बिक्री, प्रसारण अधिकार तथा प्रायोजनबाट पनि थप आम्दानी बढाउनेछ । विश्वकप खेल्न पाउँदा ती देशमा फुटबलको आकर्षणदेखि फुटबल पूर्वाधार सुधारमा पनि महत्त्वपूर्ण सहयोग गर्नेछ ।

विश्वकप खेल्दा टोलीहरूले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट आर्थिक सहयोग पाउँछन् । जसले त्यस देशको फुटबल विकासमा सहयोग पुग्छ । विश्वकप खेलेको टोली र नखेल्ने टोलीलाई फिफाबाट हुने सहयोग पनि फरक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top