होमपेज / खेलकुद
काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ सुरु हुन अब एक महिना बाँकी छ । एकै पटक तीन देशलेआयोजना गर्ने विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ ।
अहिलेसम्मको धेरै ४८ टिमले विश्वकप खेल्नेछ । ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछ । उद्घाटन खेल मेक्सिकोमा हुनेछ भने फाइनल अमेरिकामा हुनेछ ।
विश्वकप कहाँ र कहिले आयोजना हुँदैछ?
फिफा विश्वकप २०२६ यस पटक उत्तर अमेरिका महादेशको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ । यो विश्वकप जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ । आयोजक राष्ट्रको हैसियतामा तीन राष्ट्र स्वत विश्वकपमा छनोट भएका हुन् ।
विश्वकपका खेलहरु अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरको स्टेडियममा हुनेछ । विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुनेछ ।
विश्वकप हुने मैदानहरू
विश्वकपका खेलहरु कूल १६ मैदानमा हुनेछ । अमेरिकाको एटलान्टा स्टेडियम, बोस्टन स्टेडियम, डलास स्टेडियम, ह्युस्टन स्टेडियम, क्यान्सस सिटी स्टेडियम, लस एन्जलस स्टेडियम, मायमी स्टेडियम, न्यूयोर्क–न्यु जर्सी स्टेडियम, फिलाडेल्फिया स्टेडियम, सान फ्रान्सिस्को बे एरिया स्टेडियम, सियाटल स्टेडियममा खेल हुनेछ ।
यस्तै मेक्सिकोको एज्टेका स्टेडियम, ग्वाडालाजारा स्टेडियम र मोन्टेरे स्टेडियमा तथा क्यानडाको टोरन्टो स्टेडियम र बिसी प्लेस भ्यानकुभर स्टेडियममा खेल हुनेछ ।
सहभागी ४८ टोली
यस पटक फिफा विश्वकपमा अहिलेसम्मकै धेरै ४८ टिमले प्रतिस्पर्धा गर्ने भएपछि हरेक महादेशबाट टिम संख्या पनि बढेको छ । यसअघि ३२ टिमले विश्वकप खेल्दै आएका थिए ।
जसमा युरोपबाट सर्वाधिक १६ टिम छनोट हुँदा अफ्रिकाबाट १०, एसियाबाट ९ टिमले विश्वकप खेल्नेछन् । यस्तै उत्तर तथा मध्य अमेरिका र ल्याटिन अमेरिकाबाट ६-६ तथा ओसिया क्षेत्रबाट १ टिम छन् । टिम संख्या बढ्दा ओसियानाबाट एक टिम सोझै छनोट हुने प्रावधान छ ।
युरोपबाट अष्ट्रिया, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड र टर्किएले विश्वकप खेल्नेछन् ।
अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भएका छन् ।
एसियाबाट अस्ट्रेलिया, इरान, इराक, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन् ।
उत्तर तथा मध्य अमेरिकाबाट आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित कुरासाओ, हैटी र पनामा तथा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वे विश्वकपमा छनोट भएका छन् । ओसियानाबाट न्युजिल्यान्डले विश्वकप खेल्दैछ ।
समुह विभाजन र फर्म्याट
यसअघि विश्वकपमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो । यसपटक भने ४८ टिमलाई विभिन्न १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम समावेश छन् ।
यसअघि समूह चरणको खेलपछि समूह विजेता र उपविजेता नकआउट चरणमा पुग्थे । यस पटक भने १२ समुहको शीर्ष दुई टोलीसँगै तेस्रो हुने मध्ये उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
टिम संख्या बढ्दा यस पटक नआउट चरणमा राउण्ड अफ ३२ पनि थपिएको छ । त्यसपछि प्रि क्वाटरफाइनल हुँदै क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।
समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
समूह बी : क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, कतार, स्वीट्जरल्यान्ड
समूह सी : ब्राजिल, मोरोक्को, हाइटी, स्कटल्यान्ड
समूह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टर्किए
समूह इ : जर्मनी, कुराकाओ, आइभरीकोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई : फ्रान्स, सेनेगल, इराक, नर्वे
समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के : पोर्चुगल, डीआर कंगो, उज्वेकिस्तान, कोलोम्बिया
समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
कति छन् नयाँ टिम?
यस पटक विश्वकपमा चार नयाँ टिम छन् । एसियाबाट जोर्डन र उज्वेकिस्तान, अफ्रिकाबाट केप भर्डे तथा उत्तर तथा मध्य अमेरिकाबाट कुराकाओ पहिलो पटक विश्वकपमा छनोट भएका हुन् ।
चारै टोलीले आफ्नो महादेशको छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् ।
अहिलेसम्मको विश्वकप विजेता टिम र धेरै पटक विजेता
सन् १९२४ मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकप अहिलेसम्म २२ संस्करण सम्पन्न भइसक्दा ८ राष्ट्र विजेता बनेका छन् जसमा युरोपबाट ५ राष्ट्रले विश्वकप जित्दा दक्षिण अमेरिकाबाट ३ राष्ट्रले उपाधि जितेका छन् । यी दुई महादेश बाहेक अन्य महादेशका टिमले विश्वकप जित्न सकेको छैन ।
जसमा ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जित्दा युरोपियन राष्ट्र जर्मनी र इटलीले समान ४ पटक जितेको छ । यस्तै अर्जेन्टिनाले ३, उरुग्वे र फ्रान्सले २-२ तथा इंग्ल्याण्ड र स्पेनले १-१ पटक उपाधि जितेका छन् ।
ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ २००२ मा विश्वकप जितेको थियो । यस्तै जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको थियो । इटलीले १९३४, १९३८, १९८२ र २००६ मा जितेको थियो ।
अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा जितेको थियो भने उरुग्वेले सन् १९३० को पहिलो संस्करण र १९५० मा जितेको थियो । फ्रान्सले १९९८ र २०१८, इंग्ल्यान्डले १९६६ र स्पेनले २०१० मा विश्वकप जितेको थियो ।
तीन देशमा छुट्टा–छुट्टै उद्घाटन
यस पटक विश्वकप तीन फरक देशमा आयोजना हुँदा उद्घाटन पनि तीन फरक देशमै हुने भएको छ । फिफाले शनिबार अमेरिका, क्यानडा र मेक्सिकोमा छुट्टा-छुट्टै उद्घाटन समारोह हुने भन्दै कलाकारहरुको लाइनअप नै सार्वजनिक गरिसकेको छ ।
मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलअघि जुन ११ मा मेक्सिकोमा उद्घाटन समारोह हुनेछ । यस्तै अमेरिकाको लस एन्जलस र क्यानडाको टोरन्टोमा जुन १२ मा उद्घाटन समारोह हुनेछ ।
विश्वकपमा कति खेल हुनेछ?
फिफा विश्वकप २०२६ मा कूल १०४ खेल हुनेछ । समूह चरणमा कुल ७२ खेल हुनेछ । यस्तै राउण्ड अफ ३२ मा १६ खेल, प्रिक्वाटरफाइनलमा ८ खेल, क्वाटरफाइनलमा ४ खेल, सेमिफाइनलमा २ खेल तथा फाइनल र तेस्रो स्थानको लागि एक-एक खेल हुनेछ ।
विश्वकपको पुरस्कार राशी कति छ?
यस पटक फिफा विश्वकपको पुरस्कार राशी पनि वृद्धि गरिएको छ । फिफा काउन्सिलले फिफा पुरुष विश्वकप २०२६ मा आयोजनाका लागि कीर्तिमानी ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत गरेको छ । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
फिफा विश्वकप २०२६ को उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ, अघिल्लो विश्वकप विजेताले ४ करोड २० लाख अमेरिकी डलर पाएको थियो । यस्तै उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछन् ।
क्वार्टरफाइनलबाट बाहिरिने टोलीले १ करोड ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउनेछन् ।
समूह चरणमै बाहिरिने टोलीले पनि ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ । विश्वकप खेल्ने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख डलर पाउने निश्चित छ ।
नेपालमा कुन समयमा विश्वकपको खेल हुनेछ?
उत्तर अमेरिकाको तीन राष्ट्रमा फिफा विश्वकप २०२६ का खेलहरु आयोजना हुँदा आयोजक देशमे टाइम जोन फरक पर्नेछ । जसले गर्दा नेपाल लगायत एसियाली राष्ट्रमा विश्वकपका खेलहरु प्राय रातीको समयमा हुनेछ ।
नेपालमा मध्यराति १२:४५ देखि बिहान १:४५, २:४५, ३:४५, ४:४५, ५:४५, ६:४५, ७:४५, ८:४५ र ९:४५ बजे खेलहरू हुनेछन् । यस्तै राति ९:४५ र १०:४५ बजे पनि खेल हुनेछ ।
नेपालमा विश्वकप कसरी हेर्ने?
फिफा विश्वकप २०२६ को खेलहरु नेपालमा पनि प्रत्यक्ष प्रशारण हुने पक्का भइसकेको छ । नेपालमा हिमालय स्पोर्ट्स टिभी र डीगो एफमार्फत विश्वकपका खेलहरु हेर्न सकिनेछ ।
नेपालमा एस मिडिया प्रो ले फिफा विश्वकप २०२६ को प्रशारण अधिकार खरिद गरेको थियो । त्यसबाट हिमालय स्पोर्ट्स र ओटीटीमा डीगोले खेलहरु प्रशारण गर्ने सम्झौता भएको हो ।
के इरानले विश्वकप खेल्ला?
फिफा विश्वकप २०२६ को चर्चा हुने बित्तिकै अहिले इरानले विश्वकप खेल्छ कि खेल्दैन भन्ने मुख्य प्रश्न बनेको छ । अमेरिका र इजरयाल मिलेर इरानमा हमला गरेपछि इरानले तत्काल प्रतिक्रिया जनाउँदै विश्वकप नखेल्ने अडान लिएको थियो ।
तर पछिल्लो समयमा इरान विश्वकप खेल्न लचक भएको छ र त्यसका लागि इरानले १० शर्त राखेको छ । यदी ती शर्त पूरा भएमा इरानले विश्वकप खेल्नेछ । यस बारे आयोजक फिफा र आयोजक राष्ट्रहरुले केही प्रतिक्रिया दिएका छैनन् ।
इरानले खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बिना अवरोध भिसा दिनुपर्ने, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्रवेश अनुमति दिनुपर्ने माग राखेको छ ।
इरानले आफ्नो राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान हुनुपर्ने, साथै विमानस्थल, होटल र रंगशालामा यस्तै थप सुरक्षा व्यवस्था मिलाउनुपर्ने लगायत माग पनि गरेको छ ।
विश्वकपको उपाधि दाबेदार टिम को–को हुन्?
हरेक पटक विश्वकपमा उपाधिका लागि केही चर्चित टिमहरु दाबेदारको रुपमा रहने गर्छन् । त्यसमा यसअघि विश्वकप जितिसकेका केही पुराना टिम र पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेका टिमहरु छन् ।
साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सर्वाधिक ५ पटकको विजेता ब्राजलि २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने दाउमा छ ।
यस्ते युरोपेली राष्ट्रहरु फ्रान्ससँगै स्पेन र जर्मनी पनि उपाधि थप्ने लक्ष्यमा छन् । यस बाहेक सन् १९६६ मा एक पटक मात्र विश्वकप जितेको इंग्ल्यान्ड पनि विश्वकपको सदाबाहर दाबेदार रहेपनि उपाधि जित्न सकेको छैन ।
यस बाहेक विश्वकप जित्न बाँकी रहेका पोर्चुगल, बेल्जियम र नेदरल्यान्ड्स जस्ता राष्ट्रहरु पनि विश्वकप उपाधिको दाबेदारको रुपमा रहने गर्छन् ।
पुराना पावरहाउस टिमहरु अर्जेन्टिना, ब्राजिल, जर्मनीसँगै स्पेन, इंग्ल्यान्ड सदाबाहर दाबेदारको रुपमा छन् । यस्तै पोर्चुगल, नेदरल्यान्ड्स, क्रोएसिया, बेल्जियम जस्ता राष्ट्रहरु पनि ठूला टिमलाई टक्कर दिन तयार छन् ।