ट्रेण्डिङ

होमपेज / खेलकुद

ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल

नेपालगाथा २०८२ आश्विन ३० गते बिहीबार १०:०८:३० मा प्रकाशित

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए ।

यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई/दुई विकेट लिएका थिए । सन्दीप लामिछानेले भने एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुईरदुई विकेट लिए । यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क  रहेकाे छ ।

अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top