होमपेज / खेलकुद
काठमाडौं । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै जीत हासिल गरेकाे छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सोमबार भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए ।
त्यस्तै, जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए ।
नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेकाे थियो ।