ट्रेण्डिङ

होमपेज / खेलकुद

यू–२० महिला च्याम्पियनसिप - श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

नेपालगाथा २०८२ असार ३२ गते बुधबार १०:२०:५५ मा प्रकाशित

काठमाडौं । नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध शानदार जित हात पारेकाे छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७–० ले गोलअन्तरले पराजित गरेको थियाे। खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठौं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै, पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक/एक गोल गरिन् । जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ । खेलको आठौं मिनेटमै नेपालले अग्रता लियो । नेपालको लागि मीनाले सुरुवाती गोल गरिन् । त्यसपछि खेलको १३औं मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन् । त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन् । खेलको ७०औं मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top