होमपेज / खेलकुद
सुर्खेत । कर्णाली प्रदेशमा खस भाषाको समाचार बुलेटिन प्रशारण र नेपाल टेलिभिजनको प्रदेश ब्यूरो कार्यालयको स्थापना गरिएको छ। सोमबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल टेलिभिजनको स्टुडियोसहितको प्रदेश ब्यूरो र खस भाषाको समाचार बुलेटिन संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
नेपाल भाषाको उद्गम मानिने सिंजा राज्यको खस भाषालाई रेडियो नेपालको कर्णाली प्रादेशिक कार्यालयले २६औं भाषाका रूपमा समाचार बुलेटिनको रूपमा प्रशारण गर्न थालेको हो। सुर्खेतको वीरेन्द्रनगरबाट सुरु भएको यो प्रशारण कर्णाली प्रदेशका आठवटा एफएम र काहोलपुरस्थित टेलिभिजन प्रशारण केन्द्रमार्फत प्रशारण हुनेछ।
यसबाट कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। उद्घाटन समारोहमा मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारणको मूल दायित्व भनेकै जनतासम्म सूचना पुर्याउनु रहेको उल्लेख गर्दै त्यसलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।
सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनामार्फत एकीकृत प्रशारण सेवा उपलब्ध गराउने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका भूगोल, भाषा र संस्कृतिलाई विशेष प्राथमिकतामा राखेर कर्णालीमा कार्यालय स्थापना गरिएको बताए।
उनले विविध भाषा र संस्कृतिको प्रशारणले राष्ट्रिय एकता र सहिष्णुतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे। संघीय सरकारले कर्णालीलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री गुरुङले आगामी बजेटमा वित्त आयोगको सिफारिसअनुसार समपुरक र विशेष अनुदान वृद्धि गरिने जानकारी पनि दिए।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले खस भाषामा समाचार प्रशारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारलाई प्रस्ताव गरेको स्मरण गरे। थप जनशक्ति नबढाई हालको संरचनामार्फत सातै प्रदेशमा यस्ता सेवा विस्तार गर्न सके संघीयताको सार्थक कार्यान्वयन हुने उनले बताए।
कर्णालीको भाषिक विविधतालाई उजागर गर्न सुरु गरिएको यो सेवा प्रतिको अपनत्व प्रदेश सरकारले लिने प्रतिबद्धता मुख्यमन्त्री कँडेलले जनाए । साथै, उनले सञ्चार माध्यमहरूले सरकारका सकारात्मक प्रयासहरू आमनागरिकमा पुर्याएर निराशा हटाउने भूमिका खेल्नुपर्ने बताए।
उनले जनताका आवाज प्रतिनिधित्व हुने व्यवसायिक मोडेलमार्फत अघि बढ्दा मात्र सार्वजनिक प्रशारण संस्था प्रति विश्वास बढ्ने उल्लेख गर्दै कर्णालीको दूरसञ्चार सुधारका लागि नेपाल टेलिकमको ध्यानाकर्षण पनि गराए।