होमपेज / खेलकुद
काठमाडौं । नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ। नेपाल एपिएफ अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको हो। २०६८ सालदेखि भएको फरक फरक प्रणालीको उपाधि निरन्तर एपिएफले मात्र जितेको छ। दशरथ रंगशालामा आज भएको एपिएफको जितमा सविताले २ र सरु लिम्बु र अनु लामाले समान १ गोल गरे।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएकाे थियाे । दोस्रो हाफकाे ६४औं मिनेटमा अनिता केसीले दिएको बलमा सरू लिम्बुले बक्स भित्रबाट दिएको सटिक पासमा सबिता राना मगरले क्लोज रेन्जबाट गोल गरिन्।
लगत्तै ६९ औं मिनेटमा एपिएफले अग्रता दाेब्बर बनायाे । निशा थोकरको लामो पासमा रश्मी कुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो। रिबाउन्डमा सरुले गोल गरिन्। ८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्को गोल गरिन्। इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टिमलाई ४-० को जित दिलाइन्।
एपिएफले तेस्रो पटक पुलिसलाई हराएको हो। एपिएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो। पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकेको थियो। अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो।
अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बनेको थियो। उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
पहिलो चरणमा छनोट चरणका खेल सुर्खेतमा भएको थियो । दोस्रो चरणमा कुल १० टोलीको सहभागिता रहेको थियो। दोस्रो चरणबाट ५ टिम अन्तिम चरणमा पुगेका थिए। डबल राउन्ड रोबिन पछि प्ले अफ भएको थियो। कोशी प्रदेशले अन्तिम चरण नखेल्ने भनेपछि बागमतीले अन्तिम चरण खेलेको हो।