होमपेज / खेलकुद
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टि ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालको मध्यपश्चिम विश्वविद्यालयले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रन हराउँदै उपाधि जितेको हो ।
मध्यपश्चिम विश्वविद्यालयले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याउँदै लखनउ विश्वविद्यालयले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्र जोड्न सक्यो ।
मध्यपश्चिम विश्वविद्यालयका लागि दिवानले ३, राजकुमार साहले २ तथा रविन्द्र जंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम विश्वविद्यालयले दुई ब्याटरको अर्धशतकको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।
मध्यपश्चिमका लागि दिवान र विपिन खत्रीले अर्धशतक बनाएका थिए । विपिनले नट आउट रहँदै ५९ रन जोडे । उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
छैठौं विकेटका लागि विपिन र दिवानले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । दिवानले ३६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५८ रन जोडेका थिए । निश्चल रावल १९ र राजकुमार साह १५ रनमा आउट भएका थिए ।
लखनउका लागि ओपनर ममन कन्डपालले सर्वाधिक ५८ रन जोडे । हर्ष बद्र्धन सिंहले १५ र यश बद्र्धन सिंहले १४ रन बनाए । लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । हर्ष बद्र्धन सिंह, ममन कन्डपाल र अभिषेक सोनीले समान १ विकेट लिए ।
समापन समाराेहमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विजयी मध्यपश्चिम विश्वविद्यालयका खेलाडीलाई नगद सहित ट्रफी हस्तान्तरण गर्नुभयाे । कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्का, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गाैतम, रजिष्ट्रार प्राडा शाेभाखर कंडेललगायतकाे उपस्थिति रहेकाे थियाे ।

