होमपेज / खेलकुद
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेसँगै जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख रुपैयाँ प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले एनपीएलको पहिलो संस्करणको उपाधि जितेको हो ।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाख रुपैयाँको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका हुन् ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लाख प्रदान गरे । यसैगरी तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरेका छन् ।