होमपेज / खेलकुद
काठमाडाैं | कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पच्छ्याएको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए ।
कर्णालीका जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कर्णालीलाई बलियो स्थितिमा पुर्याउन जयकिशन कोल्सावालाले ५३ र विलियम बोसिस्टोले ५२ रन बनाए । ३९ बल खेलेका कोल्सावालाले ६ चौका र दुई छक्का प्रहार गरे भने ३९ बल नै खेलेका बासिस्टोले तीन चौका र दुई छक्का प्रहार गरे ।
कर्णालीले अब पहिलो क्वालिफायरमा हार्ने टीमसँग खेल्ने छ । पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
क्वालिफायर १ मा जित्ने टोली भने सिधै फाइनलमा पुग्नेछ । पुस ६ गते एनपीएल पहिलो संस्करणको फाइनल हुनेछ ।