ट्रेण्डिङ

होमपेज / खेलकुद

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

नेपालगाथा २०८१ मंसिर ४ गते मंगलबार १४:१७:१३ मा प्रकाशित

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरेकाे छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा एकसिङ्गे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडीले जर्सी लगाएर सार्वजनिक गरिएको थियो । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरले खेल र खेलाडीलाई सधै प्रोत्साहन गर्ने बताइन् । दक्ष र क्षमतावान खेलाडी जन्माउन महानगरले खेलक्षेत्रमा लगानी बढाइरहेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई गति दिइरहेका छौँ । यो रङ्गशाला निर्माण भएपछि दक्ष खेलाडी उत्पादन हुने क्रम अझै बढ्छ ।’

चितवन राइनोजका मार्की खेलाडी मल्लले खेल जित्ने उच्च मनोबलका साथ लागिरहेको बताए । चितवन राइनोज क्लबका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान खेलाडीलाई समावेश गरेकाले खेल जित्ने दाबी गरे ।

यो टिममा कुशल मल्ल, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । टिमले विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top