ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकप एसिया छनोटको खेलमा नेपालको लगातार दोस्रो जित

आइसिसी यु–१९ महिला टि–२०

नेपालगाथा २०८१ कार्तिक २२ गते बिहीबार १७:२६:२६ मा प्रकाशित

काठमाडौं । नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेल अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन रङ्गशालामा भएको खेलमा नेपालले कुवेतलाई पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो ।

कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आयशा इकबाल पेवेकरले तीन बलमा दुई रन बनाएर आउट भइन् । साराह जसवीले १२ बलमा चार रन बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक/एक रन बनाए ।

नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई/दुई विकेट लिए । त्यस्तै, कप्तान पूजा महतो, कृश्मा गुरुङ, मनिशा कुमारी उपाध्यायले समान एक÷एक विकेट लिए । यो खेलमा कुवेतले अतिरिक्त दुई रन पायो । त्यसअघि नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय तीस रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् ।

साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरिन् । ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ÷छ रन बनाए भने सीमा केसीले चार रन बनाएकी थिइन् ।

नेपालका लागि कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले एक रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त १६ रन प्राप्त गरेको थियो ।

यो जितसँगै नेपालले अब शनिबार युएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top