होमपेज / खेलकुद
गोविन्द रावत, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता आइतबारदेखि जुम्लाको सदरमुकाम खलङ्गा बजारमा अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
देशभरका जम्मा २७ मेडिकल कलेजलाई खेलकुद प्रतियोगितामा भाग लिनको लागि पत्र पठाइएको भएता पनि विविध कारणले पाँच वटाले मात्र सहभागिता जनाउने भएका छन । प्रतियाेगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम, जनकपुर राजर्षी जनक विश्वविद्यालय जनकपुरधाम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा, किस्ट मेडिकल कलेज ललितपुर र महाराजगन्ज काठमाडौं चिकित्साशात्र अध्ययन संस्थान महाराजगन्ज कलेज सहभागी हुने भएका छन् । बाँकी मेडिकल कलेजले भने बाटो र विविध कारणले उपस्थित हुन नसकेको कुरा जानकारी दिएका छन् ।
यस खेलकुदमा महिला र पुरुष भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस, चेस, दौड, कविता र हाजिरी जवाफ लगायतका प्रतियोगिता हुनेछन् । यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको खेलकुद समितिका संयोजक विवेक पुनले बताए। कार्यकम उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र खेलकुदमन्त्री समेत सहभागी हुने बताइएकाे छ ।