होमपेज / खेलकुद
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले आज यूएईको सामना गर्दैछ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेल हुन लागेकाे हाे। खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९: ४५ बजे सुरु हुनेछ ।
दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ ।
यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ ।
विश्वकप छनोटको यात्रा सकिसकेको नेपालका लागि अब बाँकी दुई खेल एसियन कप छनोटको तेस्रो चरणको तयारीको लागि महत्वपूर्ण हुनेछ । नेपालले समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।
नेपालले यूएईसँग खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि नेपालले यूएईसँग दुई पटक खेल्दा दुवै पटक पराजित भएको छ । नेपालले पहिलोपटक सन् १९८४ मा एसियन कप छनोटमा साउदी अरेबियामै यूएईसँग खेलेको थियो । जसमा नेपाल ११-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै जारी विश्वकप छनोटको पहिलो खेलमा पनि नेपाल यूएईसँग उसकै मैदानमा भएको खेलमा ४-० ले पराजित भएको थियो ।