होमपेज / खेलकुद
काठमाडौं । एसीसी प्रिमियर कप टी-२० प्रतियोगिताकाे पहिलो सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान भएकाे खेलमा नेपाल युएईसँग पराजित भएकाे हाे । योसँगै नेपालले एसिया कप खेल्न नपाउने भएको छ ।
नेपालका सन्दीप जोराले ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए । इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए । कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए ।
यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २र२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक एक विकेट लिए।
यूएईले १७।२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । ओपनर एलिसान सराफुले ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए । १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो ।
गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ।
नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।
नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ। आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ ।
यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन्। अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुने छ।