होमपेज / खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा लागु औषध मुद्दामा दोषी ठहर भएर फरार भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट पक्राउ गरेको हो । झन्डै १७ वर्षअघि भएको फैसलामा ५ वर्ष सजाय भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो । जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए ।
तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो।
उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । उक्त फैसलाविरुद्ध लामा सर्वोच्च अदालत नगएपछि त्यही सजाय अन्तिम ठहर हुन पुगेको थियो।