होमपेज / खेलकुद
चितवन । रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ ।प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जानकारी दिएकाे छ ।
महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणको पहिलो चरणको कामका लागि टेण्डर आह्वान गर्ने अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि सम्पूर्ण डकुमेन्ट र अरु प्रक्रिया पूरा गरिएको उनको भनाइ छ । महानगरले संघीय सरकारसँग पनि रंगशालाको बाँकी कामका लागि रकम माग गरेको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए । धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) परिमार्जन गरी केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मापदण्ड पूरा हुने गरी काम गर्न लागिएको जानकारी दिँदै अर्यालले भने, ‘अहिले भएको संरचनामा थप संरचना बनाउन मिल्छ वा मिल्दैन भनेर प्राविधक परीक्षणसमेत गरिएको छ ।’पहिलो चरण अन्तर्गत गरिने कामहरुको सूचीमा मैदान र पानीको नालीलाई प्राथमिकतामा राखिएको छ । अर्यालका अनुसार पहिलो चरणमा मैदान, नाला, भीआईपी कक्ष, अन्य प्याराफिटको कामलाई राखिएको छ । थप बजेट सुनिश्चित गरेर दोस्रो फेजको कामलाई पनि अगाडि बढाइने उनले जानकारी दिए ।