ट्रेण्डिङ

होमपेज / खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो जित

नेपालगाथा २०८० माघ २ गते मंगलबार १७:०९:३० मा प्रकाशित

बुटवल । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । त्यसक्रममा सुदूरपश्चिमले आज भैरहवामा भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए ।

यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए । सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान समेत कायम गरे । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान बनाएका थिए ।

सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक पारी खेले । किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोडे भने जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए ।

कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको कर्णाली ३७.२ ओभरमा अलआउट हुँदै १४३ रनमै अल आउट भयो । उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । विकाश आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए ।

कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top