ट्रेण्डिङ

होमपेज / खेलकुद

त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशकाे विजयी सुरुवात

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

नेपालगाथा २०८० माघ १ गते सोमबार १९:४९:०१ मा प्रकाशित

काठमाडौ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई १ सय २६ रनले पराजित गर्दै प्रतियोगितामा सुरुवात गरेको हो । सोमबारको खेलमा भने ३ सय २१ रनको विशाल लक्ष्य पछ्याएको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९४ रन बनाएकाे थियाे ।

मधेशका लागि पवन सर्राफले ६५ रन तथा मयक यादवले ३४ रन र राजेश यादवले ३२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । मधेशलाई सस्तैमा समेट्न आर्मीका शहाब खानले सर्वाधिक ४ तथा सोमपाल कामीले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २० रन बनाउँदा कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका थिए । विनोदले ९३ बलमा १ सय १३ रन बनाउँदा ९ चौका र ६ छक्का हिर्काए । सन्तोष कार्कीले ४२ रन तथा कुशल मल्ल र विवेक यादवले समान ३७-३७ रन जोडे ।

मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ तथा विशाल पटेलले २ विकेट हात पारे । रुपेश सिंह र राजेश यादवले १-१ विकेट लिए । यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सोमबारको खेलमा लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमलाई जित दिलाउन शेर मल्लले अविजित ४२ रन तथा नारायण जोशीले अविजित २८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन तथा मोहम्मद हुसेनले २६ र विराट भण्डारीले २३ रन जोडे । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३ तथा भोजराज भट्ट र नरेन साउदले समान २-२ विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top