ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी  फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्सको नेपाल प्रतिनिधिमा नियुक्त

नेपालगाथा २०८० मंसिर २९ गते शुक्रबार २३:०३:०२ मा प्रकाशित

काठमाडौं । नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी इटलीको मिलानोमा हेडक्वाटर रहेको फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स (फिक्ट्स)को नेपाल प्रतिनिधिमा नियुक्त भएका छन् । फिक्ट्सको बोर्ड बैठकले ठकुरीलाई नेपालमा खेलकुद संस्कृतिको प्रवर्द्धनमा कार्य गर्न नियुक्त गरेको बताइएकाे छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)बाट मान्यताप्राप्त फिक्ट्सले खेलकुदको मूल्य मान्यता एवं ओलम्पिक र प्याराओलम्पिक गेम्सको सामाजिक सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने गर्छ । विश्वभर १३० सदस्य राष्ट्र रहेकाे फिक्ट्सले पाँच महादेशका विभिन्न देशमा २० वटा अन्तर्राष्ट्रिय स्पोर्टस् फिल्म फेस्टिभल आयोजना गर्ने गर्दछ। मुख्य फिल्म फेस्टिभल भने हरेक वर्ष मिलानोमै हुने गर्दछ ।

नेपालबाट केही वर्ष अघि खेल पत्रकार टीएस ठकुरी र पत्रकार जनक नेपालद्वारा निर्देशित डकुमेन्ट्री ‘प्लेयर सिटी’ (खेलाडीको सहर) मिलानोमा चयन भइ प्रदर्शन भएको थियो । फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रोफेसर फ्रान्को अस्कानी र महासचिव डा. इन्जो क्यापिएलोद्वारा हस्ताक्षरित पत्र भर्खरै प्राप्त गरेको ठकुरीले बताए ।

‘फिक्ट्ससँगको आवद्धतासँगै नेपाललाई विभिन्न विधामार्फत अन्तर्राष्ट्रियकरण गर्न सघाउनेछ, यसले नेपालको खेलकुद र पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय टेवा पुग्नेछ’, ठकुरीले भने, ‘फिक्ट्सले खेलकुदसम्बन्धी सिनेमा, वृत्तचित्र, टेलिभिजन फुटेज, खेलकुद फोटो, आलेखलाई पुरस्कृत गरी खेल संस्कृतिको प्रवर्द्धनमा जोड दिने गर्दछ, हामीले पनि फिल्म फेस्टिभल र अवार्ड समारोह आयोजनामार्फत खेल संस्कृति प्रवर्द्धन गर्दै विश्वव्यापी सञ्जालसँग जोडिने अवसर प्राप्त गरेका छौं ।’

नेपालमा फिक्ट्स सम्बद्ध फेस्टिभल लगायत गतिविधि गर्न आफूलाई अधिकार प्रत्यायोजन गरेकोमा फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रो फ्रान्को अस्कानीका साथै फिक्ट्स परिवारप्रति ठकुरीले आभार व्यक्त गरेका छन् । नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी भर्खरै भियतनामको होचिमिन्हमा आयोजित तीन दिने आठौं मास पार्टिसिपेसन वर्ल्ड (एमपीडब्ल्यु) कन्फ्रेन्समा भाग लिइ नेपाल फर्किएका छन् । यस कन्फ्रेन्समा नेपालबाट ठकुरीले पहिलोपटक भाग लिएका हुन् ।

यसअघि गत फेब्रुअरीमा जापानको ओसाकामा भएको एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को २३औं वल्र्ड कंग्रेसमा पनि नेपालबाट नेपालगन्ज म्याराथनले पहिलोपटक भाग लिँदा ठकुरीले नै प्रतिनिधित्व गरेका थिए ।

एम्सको सदस्यता लिने नेपालगन्ज म्याराथन नेपालबाट पहिलो हो । नेपालगन्ज म्याराथनले यही मंसिर ९ गते नवौं संस्करण सम्पन्न गरेको छ । नवौं संस्करणको धारा नेपालगन्ज म्याराथनमा एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठ हाफ म्याराथनतर्फ च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top