ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल तीन खेलबाट एक अंक पनि नबटुली प्रतियोगिताबाट बाहिरियाे

यू १९ एसिया कप

नेपालगाथा २०८० मंसिर २६ गते मंगलबार १८:५६:४४ मा प्रकाशित

काठमाडौं । यू १९ एसिया कपमा नेपाल तीन खेलबाट एक अंक पनि नबटुलिकनै प्रतियोगिताबाट बाहिरिएको छ । यो अनपेक्षित नतिजा होइन, किनकी समूह चरणमा तीनवटै प्रतिस्पर्धी टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । भारत, पाकिस्तान क्रिकेटका हस्ति राष्ट्रहरु नै हुन् भने अफगानिस्तानले पनि पछिल्लो समय हस्ति राष्ट्रहरुलाई टक्कर दिइरहेको छ । तर, नेपाली टिमबाट जुन स्तरको प्रदर्शनको आशा राखिएको थियो, त्यो चाहीँ पूरा भएन । खासगरि नेपालको ब्याटिङ यूएईको कठिन पीचमा नराम्ररी उदांगो भएको छ ।

मंगलबार दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा भएको खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भयो । यो प्रतियोगितालाई आउँदो जनवरीमा हुने आइसीसी विश्वकप क्रिकेटको तयारीको रूपमा हेरिएको थियो । कम्तिमा एउटा जीत निकालेको भए त्यो अभूतपूर्व उपलब्धी हुन सक्थ्यो । तर, प्रतियोगिताभर नै नेपालको ब्याटिङ सम्झन लायक रहेन । ३ वटै खेलमा पूरा ५० ओभर खेल्न नसक्नुले नेपालको कमजोरी झल्किन्छ ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध ४७ ओभर २ बलमा अल आउट भएको नेपाल दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ४० ओभर १ बलमा अलआउट भएको थियो । अन्तिम खेलमा भारतविरुद्ध नेपाल २२ ओभर १ बलमै समेटियो । ओपनर अर्जुन कुमालले अफगानिस्तानविरुद्ध र उत्तम थापा मगरले बलियो पाकिस्तानविरुद्ध गरेको ब्याटिङ मात्रै सम्झनयोग्य रहे । उनीहरुको दुई इनिङबाट पुष्टि हुन्छ कि ब्याट्सम्यानले धैर्यता र सुझबुझ राखेको खण्डमा रन बन्न सक्थ्यो ।

३ वटै खेलमा नेपालले २ सय रन कटाउन सकेन । पाकिस्तानविरुद्ध १ सय ५२ मा समेटिएको नेपालले अफगानिस्तानसँग जेनतेन १ सय ८८ रन पुर्यायो । तर भारतसँग ५२ रनमै प्याक भयो । नेपालको ३ वटै खेलमा राम्रो साझेदारी बन्न सकेन । दीपेश कँडेल र उत्तम थापामगरले पाकिस्तानविरुद्ध गरेको ६८ रनको साझेदारी नै सर्वाधिक ठूलो रह्यो ।

पहिलो खेलमा गोल्डेन डकआउट भएको कप्तान खनालले दोस्रो खेलमा २४ रन जोडे । तेस्रो खेलमा उनी २ रनमा आउट भएका थिए । तीन खेलमा उनको कुल स्कोर रह्यो २६ रन ।

अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट समेत पाकिस्तान र भारतसँग खेलिसकेका छन् । राष्ट्रिय टीमका लागि थुप्रै उत्कृष्ट इनिङ खेलेका उनले युवा टीममा धमाल नै मच्चाउलान् भन्ने सोचिएको थियो । उनी अन्तिम समयमा यू–१९ टोलीमा समेटिएका थिए । तर, झाले तीन खेलमा जम्मा २२ रन बनाए ।

नेपालका अधिकांश ब्याटर पाकिस्तान, अफगानिस्तान र भारतका पेस बलरको सिकार भए । टेस्ट राष्ट्रका पेस बलरसामु नेपाली ब्याटिङ धराशायी बन्यो । नेपालविरुद्ध पाकिस्तानका पेस बलर मोहम्मद जिशानले ६ विकेट लिएका थिए । भारतका पेस बलर राज लिम्बानीले एक्लै सात विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top