होमपेज / खेलकुद
काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।
भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो । यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।
फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो । लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।
विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ । यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो । त्यसबेला अष्ट्रेलिया अपराजित रहँदै फाइनल पुगेको थियो ।
यस पटक त्यसको ठीक विपरीत भारत अपराजित रहँदै फाइनल पुगेको छ । भारतलाई घरेलु मैदानमा त्यस हारको बदला लिने मौका समेत छ ।