होमपेज / खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अध्यक्षमा चतुरबहादुर चन्दसहितकाे नयाँ नेतृत्व पाएकाे छ । तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध चयन भएका थिए भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका हुन् ।
सचिवमा पारस खड्काले जित हासिल गरेका छन् । केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । उनी निर्विरोध भइन् । यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध केन्द्रीय सदस्य चयन भएका छन् ।
बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले जितेका छन् । मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको थियाे। उनीहरूले ४२/४२ भोट ल्याएका हुन् । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए ।
बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् ।
खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत ल्याए ।
पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ । उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।