ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली महिला क्रिकेट टाेली सेमिफाइनलमा प्रवेश

विश्वकप एसिया छनाैट

नेपालगाथा २०८० भाद्र १८ गते सोमबार १२:०३:१३ मा प्रकाशित

काठमाडौं । नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ  । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ ।

काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे । २८ बल खेल्दै ४ चौकासमेत प्रहार गरेकी काजललाई सातौं ओभरको अन्तिम बलमा कतारकी सबिजा पनायानले बोल्ड गरे ।

त्यसपछि सीता र इन्दु मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यी दुईले अविजित २८ रनको साझेदारी गरे । इन्दुले १२ बल खेल्दै ३ चौका मदतमा अविजित २० रन बनाइन् । यस्तै सीताले २३ बलमा अविजित १७ रन बनाइन् ।

त्यसअघि युकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो । कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङ समेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top