होमपेज / खेलकुद
काठमाडाैं | एसिसी प्रिमियर कपअन्तर्गत नेपालले सेमिफाइनल खेलका लागि आज कुवेतसँग खेल्दैछ । खेल अहिले बिहान ९ बजे टियु क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपाल समूह 'ए' को विजेता र कुवेत समूह 'बी' को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपाल कुवेतलाई हराउँदै फाइनलमा पुग्ने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेत पनि सोही लक्ष्यमा हुनेछ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुगेको हो ।
कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।
नेपाल कुवेतलाई पराजित गरी फाइनल प्रवेश गरे एसिया कप छनोटको एक खुड्किलो पार गर्नेछ । कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान र युएईबीचको विजेतासँग खेल्नेछ । फाइनल जिते नेपालले भारत र पाकिस्तान सम्मिलित एसिया कप खेल्न पाउँनेछ ।