होमपेज / खेलकुद
काठमाडौं । लियानेल मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले पानामा विरुद्ध सहज जीत हात पारेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको मैत्रीपूर्ण खेलमा मेसीले करियरको ८०० औं गोल पनि पूरा गरे । जुन ८३० गोल गरेका क्रिश्चियानो रोनाल्डोपछि सबैभन्दा बढी गोल हो ।
आफ्नै देशमा भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल भने युवा मिडफिल्डर थियागो अल्माडाले गरे । मेसीको फ्रिकिकमा फर्किएको बलमा अल्माडाले ७८ औं मिनेटमा गोल गरेका हुन् ।
तर मेसीले फ्रिकिकमा ८९ औं मिनेटमा दर्शनीय कीर्तिमानी गोल गर्दा विश्वविजेता बनेपछि पहिलो खेलमा अर्जेन्टिनाले सहज जीत हात पारेको हो । पछिल्लो गोलसँगै मेसी राष्ट्रिय टिमको गोल संख्या ९९ पुर्याउन सफल भएका छन् । थप एक गोल गर्दा उनले १०० गोलको कोशेढुंगा पार गर्नेछन् ।
फ्रान्सलाई तीन महिना ट्राइबेकरमा ४–२ गोल पराजित गर्दै मेसीप्रेरित अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि उचालेको थियो । विश्वविजेता अर्जेन्टिनाको खेल हेर्नका लागि ८३२१४ दर्शक मैदानमा उपस्थित भएको जनाइएको छ ।
विश्वविजेता बनेर देशमै पुनः खेल्न मेसीसहितका खेलाडी आएपछि ब्युनस आयर्सका चोकचोकमा हजारौं समर्थकको भीड लागेको संचारमाध्यमले जनाएका छन् । अर्जेन्टिनालाई मेसीले एकल प्रयासमा विश्वकप जिताएपछि उनीप्रतिको सम्मान र ख्याति झन् बढेको छ ।