होमपेज / खेलकुद
काठमाडौं । नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।
घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको हाे । डकवर्थ एन्ड लुइस मेथडअनुसार ९ रनले जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने तेस्रो टिम बनेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।
नेपालका लागि गुल्सन झाले ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । त्यस्तै, भीम शार्कीले ६७ रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गरे । आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए । कुशल भुर्तेलले पनि अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए । कप्तान रोहितकुमार पौडेलले २५ बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाए ।
यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।