ट्रेण्डिङ

होमपेज / खेलकुद

फाइनलमा त्रिभूवन आर्मी र न्यु होराइजन भिड्ने

नेपालगाथा २०७६ बैशाख २० गते शुक्रबार २१:११:२० मा प्रकाशित

सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभूवन आर्मी क्लब र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा न्यु होराइजनले आयोजक कर्णाली-११ लाई ३ विकेटले तथा दोश्रो सेमीफाइनलमा आर्मीले एपीएफलाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

फाइनल खेल शनिवार सुर्खेत कालिन्चोक मैदानमा हुनेछ। 

पहिलो खेल - न्युहोराइजनसँग आयोजक कर्णाली-११ पराजित 

शुक्रबारकाे पहिलो खेलमा आयोजक कर्णाली-११ लाई पराजित गर्दै न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिगको फाइनल प्रवेश गरेकाे हाे ।

सुर्खेत स्थित कालिन्चोक मैदानमा शुक्रबार विहान सम्पन्न खेलमा शक्ति गौचन कप्तानीको होराइजन ३ विकेटले विजयी भएको हो। दोश्रो सेमीफाइनलमा आजै शशस्त्र प्रहरी बल ( एपीएफ ) र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार भएको वर्ष र हावाहुरीको कारण १३ ओभर प्रति/इनिंगमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो।

कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए। पहिलो ३ विकेट १७ रनमा गुमेपछि कार्कीले अन्तिममा आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। होराइजनका बलर शक्ति गौचनले २ विकेट लिए।

६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर भेट्यो। जितमा शुबेन्दुपाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए।

किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए।

दोश्रो खेल - आर्मीको रोमान्चक १ विकेटको जित 

अत्यन्त रोमान्चक दोश्रो सेमीफाइनलमा त्रिभूवन आर्मी क्लबले एपीएफलाई १ विकेटको झिनो अन्तरले पराजित गर्यो। 

खेलमा टस जितेर ब्याटिंग गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सकेको थियो। एपीएफको लागि शरद भेसावकरले सर्वाधिक ३०, भुवन कार्कीले १९, पुरन बिकले १३ अ शंकर रानाले १२ रन बनाए। आर्मी बलर सोमपाल कामिले ३ , सुशन भारिले २ तथा जितेन्द्र मुखिया र साहब आलमले १/१ विकेट लिएका थिए। 

८७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले १७.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। आर्मीको लागि सोमपाल कामिले सर्वाधिक ३१ तथा जितेन्द्र मुखिया र रोहित पौडेलले समान १२ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा ७३ रनमा आर्मीले ९ विकेट गुमाईसकेको थियो जुन अवस्थामा दशौँ विकेटको लागि जितेन्द्र मुखिया र साहब आलमले १५ रनको साझेदारी गर्दै टिमलाई रोमान्चक जित दिलाएका थिए। आलमले अविजित २ रन बनाए।

एपीएफको लागि कमल सिंह ऐरी र यज्ञमान कुमालले २/२ विकेट तथा अमर सिंह रौटेला, भुवन कार्की र शरद भेसावकरले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए।

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top