ट्रेण्डिङ

होमपेज / समाज

खड्का होटल सुर्खेतद्वारा बाढीपीडितका लागि ८ लाख ५० हजार बढी सहयोग

विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व

नेपालगाथा २०८३ भाद्र १४ गते आइतबार १८:१८:०१ मा प्रकाशित

सुर्खेत । गत भाद्र १० गते रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बिनाशकारी बाढीले रसुवा, नुवाकाेट, धादिङ र गाेर्खाका विभिन्न क्षेत्रमा ठूलाे जनधनमा क्षति पुर्याएपछि सुर्खेतमा रहेकाे खड्का हाेटलले ८ लाख ५९ हजार ६१८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने भएकाे छ ।

होटल सञ्चालक कृष्ण खड्का र खेम खड्काका बुवा स्व. शिवराज खड्काको परिकल्पना तथा योजनाअनुसार होटल परिसरमा विगत ३ वर्षभन्दा पहिलेदेखि होटलको काउन्टरमा राखेर असहाय तथा विपन्न व्यक्तिहरूका लागि सहयोग जुटाउने उद्देश्यले सञ्चालन गरिएकाे चन्दा बाकसमा जम्मा भएकाे ७ लाख ८ हजार ६ सय १८ रुपैयाँ र खड्का परिवारले आफ्नो तर्फबाट १ लाख ५१ हजार रुपैयाँ थप गरी कुल ८ लाख ५९ हजार ६ सय १८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न लागेकाे हाेटल सञ्चालक कृष्ण खड्काले जानकारी दिनुभयाे । 

खड्काले भन्नुभयाे, 'आज नेपालकाे पूर्वमा घाउ लागेकाे छ पश्चिममा हामीलाई दुख्नुपर्छ र हामीले सहयाेग गर्नुपर्छ । पश्चिममा घाउ लागेमा पूर्वमा दुख्नुपर्छ याे नै नेपाल र नेपालीकाे सञ्चा मानवता हाे ।' बुवा आमा शुरुदेखि नै पराेपकारी कार्यमा लागेकाले यही भावनालाई आफूहरुले पनि निरन्तरता दिएकाे उहाँकाे भनाई थियाे । 

खड्का परिवारले विपद्को पीडामा परेका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको बताएको छ । 

शनिबार संकलन गरिएको चन्दा बाकस सुर्खेत जिल्ला स्थित प्रशासन, प्रहरी, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यहरूको उपस्थितिमा खोलेर रकम गन्ने काम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top