ट्रेण्डिङ

होमपेज / समाज

सुन्दर नेपाल संस्थाको ३०औं वार्षिक साधारणसभा सम्पन्न

नेपालगाथा २०८३ भाद्र ५ गते शुक्रबार १८:२९:०३ मा प्रकाशित

सुर्खेत । सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल नारासहित सुन्दर नेपाल संस्थाको ३०औं वार्षिक साधारणसभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले ३० वर्षसम्म विभिन्न प्रदेशमा विभिन्न कार्यक्रम गरेर समाज परिवर्तनका लागि ठूलो योगदान पुर्याएको बताउनुभयो । 


चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बि.क. विवशले संस्थासँगको पुरानो सम्बन्ध भएको र रेक्चामा खानेपानीका लागि गरेको प्रयासका बारेमा सम्झना गर्दै आज करिब ३० वर्षपछि उक्त प्रयास सफल भएको बताउनुभयो । यसैगरी सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा रेग्मी शर्माले संस्थाले सिम्ता गाउँपालिकाका धेरै घरधुरीलाई खानीपानी व्यवस्थापनमा ठूलो सहजीकरण गरेको बताउनुभयो । 

संस्थाका सचिव उमा भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आव २०८२/०८३ मा सातवटा परियोजना सञ्चालन भएको जानकारी दिनुभयो । सचिव भट्टराईले पोषण परियोजनाबाट सुर्खेतका बराहताल, वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी र गुर्भाकोट पालिकाका ६६ हजार ४ सय ९३ जना सुनौला हजार दिने आमा तथा बच्चाहरु लाभान्वित भएको जानकारी दिनुभयो । यसैगरी एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमबाट सुर्खेत र सल्यान जिल्लाका विभिन्न पालिकाका १ हजार २ सय ४० घरधुरी लाभान्वित भएको बताउनुभयो । शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाबाट २ हजार २ सय ३० जना व्यक्ति लाभिन्वित भएका छन् । 


यसैगरी सचिव भट्टराईले मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जाको पहुँच, महिलामैत्री शहरः नेपालमा समावेशी र जलवायु उत्थानशील शहरीकरण परियोजना, स्वास्थ्यका लागि ऊर्जा कार्यक्रम र सबैका लागि शिक्षाः जवाफदेहिताा र सुशासन प्रवद्र्धनका लागि सिभेक्ट मोडल परियोजनाबाट पनि विभिन्न जिल्लाका विभिन्न पालिकाका हजारौं व्यक्तिहरु लाभान्वित भएको बताउनुभयो । 


संस्थाका कोषाध्यक्ष लालबहादुर खत्रीले आ.व. २०८२/०८३ को कुल आम्दानी १२ करोड ९ लाख १४ हजार ६ सय ५० रुपैयाँ १० पैसा र १२ करोड ११ लाख ८३ हजार ७ सय छ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । यसैगरी कोषाध्यक्ष खत्रीले आव २०८३/०८४ का लागि १७ करोड ५ लाख ४३ हजार १ सय ३६ रुपैयाँ २५ पैसा र १९ करोड ८५ लाख ५० हजार २ सय ३० रुपैयाँ ८१ पैसा बराबरको प्रस्तावित कार्यक्रम पेस गर्नुभयो ।


संस्थाका अध्यक्ष माया कुमारी सापकोटाले हाल संस्था कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका २८ जिल्लामा सञ्चालनमा रहेको जानकारी दिनुभयो । साथै उहाँले संस्थाले स्थापना कालदेखि बालशिक्षा, महिला शिक्षा, कानूनी शिक्षा, बाली विविधीकरण, लघु उद्यम व्यवसाय, सामुदायिक साक्षरता कार्यक्रमलगायतका थुप्रै कार्यक्रममार्फत समाज परिवर्तनका लागि उल्लेखनीय योगदान गरेको बताउनुभयो । 


कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तथा संस्थापक उपाध्यक्ष वुद्धिप्रसाद सापकोटाले संस्था स्थापनादेखि आजको दिनसम्म आइपुग्दा अनेकौ चुनौतीहरुको सामना गर्दै अगाडि बढेको स्मरण गर्नुभयो । 


कार्यक्रममा पूर्व अध्यक्ष हेमप्रकाश भूसाल र कर्मचारी विनोद भण्डारीलाई दोसल्लाह र प्रमाणपत्रसहित सम्मान गरिएको छ । 
संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा दातृ निकायका प्रतिनिधि, आजीवन सदस्य, साधारण सदस्य, शुभचिन्तक लगायतको सहभागिता भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top